राष्ट्रियसभाः बजेट उत्साह जगाउने तर कार्यान्वयन नहुने टिप्पणी



काठमाडौंः प्रतिपक्ष दलका सांसदले बजेटले जनतामा उत्साह जगाए पनि कार्यान्वयनमा चुनौती हुने शंका व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७-७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाली काँग्रेसकी अनिता देवकोटाले बजेट उत्साह जगाउने तर कार्यान्वयन नहुने प्रचारमुखी भएको तथा श्रमिक, निमुखा बालबालिका, महिला र बेरोजगार युवालाई समावेश गर्न नसकेको बताए ।

राष्ट्रिय जनता पार्टीका शेखरकुमार सिंहले प्रदेश नं २ का जनताको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको विषय बजेटमा व्यवस्था भएअनुुसार कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामचन्द्र राईले नेपालको वर्तमान आवश्यकतालाई सम्वोधन गर्ने गरी बजेट आएको टिप्पणी गरे । नेकपाकै दीपा गुरुङले बजेटले विधिको शासन, समन्वय र सहकार्यलाई अझै व्यवहारमा लैजाने प्रतिबद्धता देखाएको बताए ।

सोही दलका जगप्रसाद शर्माले २००८ सालमा स्थापना भएको दाङको टरीगाउँ विमानस्थलका लागि बजेटको व्यवस्था गर्न माग गरे । नेकपाका खिमलाल भट्टराई, नन्दा चपाईँ, तारामान स्वाँर, नरपति लुहार, महेश महरा, हरिराम चौधरी, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, नैनकला ओझा र कविता बोगटीले कोभिड-१९ ले आक्रान्त बनेका अवस्थामा बजेट समयसान्र्द्भिक भएको बताए ।

अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारका तर्फबाट यही जेठ १५ गते रु १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्