प्रदेश २ को पञ्चवर्षिय योजना तयार हुँदै



जनकपुरधाम : प्रदेश २ को दीर्घकालिन विकास योजनाका लागि नीति आयोग पञ्चवर्षिय योजना बनाउनमा जुटेको छ ।

आयोग गठन भएको लामो समयपछि प्रदेशको पहिलो पञ्चवर्षिय योजना बनाउन लागिएको हो । सो योजना मुख्यतः वन, पर्यटन र कृषिमा जोड दिएको बताइएको छ ।  सो योजनामा प्रदेशलाई उत्पादनमुखी र रोजगारमुखी कसरी बनाउन सकिन्छ भन्ने लगायतका कुरा समेटिएको आयोगका सदस्य डा. सुरेन्द्र झाले बताए ।

उनले भने, हामीले यस्तो योजना ल्याउने तयारीमा जुटेका छौ जुन सरकार परिवर्तनपछि आउने अन्य दलको सरकारले पनि आत्मसात गर्न सकोस् ।

कार्यक्रममा सहभागी पूर्व संविधानसभा सदस्य एवं राजपाका नेता डा. विजयकुमार सिंहले प्रदेशलाई समृद्ध बनाउन आयोगले ल्याउने पञ्चवर्षिय योजनामा शिक्षाको हब निर्माण र सडक सञ्जाल विस्तारमा जोड दिनुपर्ने बताए ।

पञ्चवर्षिय योजनाबारे आयोजित सो कार्यक्रममा अधिकांश वक्ताहरुले सडक, शिक्षा, पर्यटन, उद्योग व्यवसाय र कृषिको विस्तार लगायतको दीर्घकालिन योजनाहरु समेटिनुपर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा प्रदेशका प्रमुख उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्