त्रिपुरा क्लबमाथि नेपाली युवा टोलीको शानदार जित, अभिषेकले गरे ४ गोल



काठमाडौं : अभिषेक रिजालले ४ गोल गरेपछि नेपाली युवा टोलीले भारतमा जारी डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ फुटबलमा त्रिपुरा क्लबलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ।

एलएनआइपीई रंगशालामा बिहीबार सम्पन्न समुह चरणको आफ्नो दोस्रो खेलमा नेपाललाई जित दिलाउन थप ४ गोल  स्ट्राइकर रेजिन सुब्बा, प्रिजेन तामाङ र धिरज श्रेष्ठले गरेका थिए। नेपालले खेलको चौंथो मिनेटमा नै प्रिजेनको गोलमा अग्रता लिएको थियो। उनले नितिन थापाको पासमा गोल गरेका थिए।

३१ औं मिनेटमा रेजिन सुब्बाको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा आधा दर्जन गोल गर्यो। दोस्रो हाफमा अभिषेक चम्किदा नेपालले ६ गोल गरेको हो। ५२ औं मिनेटमा अभिषेकले ब्याक्तिगत पहिलो गोल गर्दा नेपालले अग्रता तेब्बर बनायो। ६७ औं मिनेटमा प्रिजेनले ब्याक्तिगत दोस्रो गोल गर्दा नेपालले अग्रता ४–० मा पुर्यायो। त्यस्तै ६६ र ६९ औं मिनेटमा गोल गर्दै अभिषेकले ह्याट्रिक पूरा गरे।

अभिषेक नेपाल पुलिस क्लबका युवा फरवार्ड हुन्। उनले पुलिसबाट पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। ७७ औं मिनेटमा धिरजले गोल गरेपछि नेपालले अग्रता अझ फराकिलो बनायो। धिरजले गोल गरेको १ मिनेटपछि अभिषेकले ब्याक्तिगत चौंथो गोल गर्दा नेपालले खेलमा ८–० को अग्रता बनाएको थियो। तर, त्यसपछि निर्धारित र अतिरिक्त समयमा थप गोल भएन र नेपालले फराकिलो जित निकाल्यो।

नेपाल पहिलो खेलमा भारतीय क्लब मेघालयसँग ३–२ ले पराजित भएको थियो। आजको खेलमा नेपालका प्रशिक्षक चेत नारायण श्रेष्ठले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेका थिए। उनले गोलकिपरमा सोजित गुरुङको स्थानमा विष्णु कुमार केसी र स्ट्राइकरमा प्रिजेन तामाङलाई खेलाएका थिए।

प्रिजेन पहिलो खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। ११ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। समूूह ‘ए’ मा ५ र समूह ‘बी’ मा ६ टोली छन्। नेपालले आफ्नो तेस्रो खेलमा शनिबार मणिपुरसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया दिनुहोस्