राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

संविधान संशोधन विधेयक दर्ता गर्नका लागि सोमबार राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

उनीहरुले गैरसरकारी विधेयकको रूपमा विधेयक दर्ता भएका हुन् ।

संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

राजपा–समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरेका छन् । त्यसले कानुनी मान्यता नपाइसकेकाले दुई दलका करूपमा उक्त विधेयक दर्ता भएको हो ।

यसअघि गत शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । तर, विधेयक दर्ता हुन सकेको थिएन ।

राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने, राष्ट्रिय सभामा हरेक प्रदेशबाट ३–३ जनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने राजपाको संविधान संशोधन विधेयकमा उल्लेख थियो ।

यसैगरी सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषदलगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नपर्ने, राजदूत लगायत संवैधानिक नियुक्त समावेशी र समानुपातिक हुनुपर्ने माग राजपा र समाजवादीको विधेयकमा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्