तिलोत्तमा गोल्डकप : मनाङलाई स्तब्ध पार्दै च्यासल सेमिफाइनलमा



काठमाडौं : च्यासल युथ क्लब बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा बिहीबार सम्पन्न खेलमा ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्यासलले अन्तिम ४ मा स्थान पक्का गरेको हो।

च्यासललाई जिताउन खेलको ४८ औ मिनेटमा अफ्रिकन खेलाडी अर्मान्ड बिडौमले निर्णायक गोल गरे। खेलअवधिभर गोल गर्न पाएका केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङ क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भयो।

खेलको अन्तिम तिर मनाङका प्रकाश बुढाथोकीले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फर्किएपछि मनाङले बराबरी गोल गर्ने मौका गुमाएको थियो। ३ विदेशी खेलाडीसहित मैदान पसेको मनाङले सोचे अनुसारको प्रदर्शन गर्न सकेन।

यता च्यासलले भने बलियो मानिएको मनाङविरुद्ध राम्रो प्रदर्शन गरेको थियो। च्यासलले अब फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा शुक्रबार आयोजक लाली रुपन्देही र अफ्रिकी टोली दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा जारी प्रतियोगितको विजेताले ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजारका साथै कप मेडल प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्