कुखुरामा विभिन्न रोगको प्रकोप, सावधानी अपनाउन चिकित्सकको आग्रह



जनकपुरधाम : प्रदेश २ का व्यावसायिक कुखुरामा इकोलाई र सिआरडी रोगको प्रकोप बढ्दै गएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको मध्यमाञ्चल शाखा जनकपुरधामले जनाएको छ ।

दूषित पानीको कारण इकोलाई र भ्याटिलेशन रहित अवैज्ञानिक तरिकाले निर्माण गरिएको फार्ममा जम्मा हुने फोहोरबाट सीआरडी रोगको प्रकोप बढ्दै गएको प्रयोगशालाले जनाएको हो ।

द नेपालटपसँग कुरा गर्दै प्रयोगशालाका चिकित्कस डा. मुकेश नायकले ल्याबमा दैनिक ८/१० वटा कुखुरा चेकजाँचका लागि आउने गरेको जानकारी दिए । रोगबाट मरेका कुखुरालाई पोस्टमार्टम गर्दा ९० प्रतिशत इकोलाई र सीआरडी रोग फेला पर्ने गरेको उनको भनाइ छ । 

डा. नायकले दूषित दानाबाट लाग्ने माइकोटेक्टिस रोग भएका कुखुरा पनि १० प्रतिशतको हाराहारीमा फेला पर्ने गरेको बताए । ‘कुखुरा बिरामी भएपछि वा मर्न थालेपछि मात्रै प्रयोगशालामा  किसान र व्यवसायीहरू आउने गरेका छन्,’ उनले भने, ‘तर स्थानीय स्तरमा अनुगमन गर्दा अधिकांश कुखुरामा इकोलाई र सीआरडी भएको पाइएको छ ।’ 

प्रयोगशाला प्रमुख वरिष्ठ चिकित्क डा. राकेश मोहन सिंहले खोर अवैज्ञानिक तरिकाले निर्माण गरिएको, कुखुरा पाल्ने ठाउँ फोहर भएको र कुहिएको दूषित दाना कुखुरालाई खुवाउने गरेका कारण रागको प्रकोप फैलिँदै गएको बताए । ।

यस्तो हुन्छ लक्षण

इकोलाई, सीआरडी र माइकोटेक्टिस रोग लागेका कुखुरामा झोक्राउने, दाना पानी नखाने, बेहोस हुने लगायतका लक्षण देखिन्छ ।

नियन्त्रण

यी समस्याहरू देखिने बित्तिकै नजिकका पशुपक्षी चिकित्सक वा पशु सेवा कार्यालयमा सम्पर्क गरी समस्याको नियन्त्रण गर्न सकिन्छ । पोल्ट्री फार्म वा व्यक्तिगत कुखुरा पाल्ने ठाउँलाई सफासुधर राख्ने, फार्म वैज्ञानिक तरिकाले भेन्टिलेशनयुक्त बनाउने, निर्मलीकरण भएको शुद्ध पानी मात्र खुवाउने र कुहिएको वा पुरानो दाना नखुवाउने गरे यो रोग नलाग्ने उनको भनाइ छ । 

यस्ता रोग लागेका कुखुराको मासु नखान उनले सुझाव दिएका छन् । 

जनकपुरधामस्थित मध्यमाञ्चल पशुपक्षी रोग अन्वेषण प्रयोगशालाले तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत पहाडका रामेछाप, दोलखा र काभ्रपलाञ्चोक सहित १९ जिल्ला हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्