आहा रारा गोल्डकप : आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात



काठमाडौं : पोखरामा सुरु १७ औं संस्करणको आहा रारा गोल्डकपमा सशस्त्र प्रहरी बलको (एपिएफ) ले विजयी सुरुवात गरेको छ। आयोजक सहारा क्लबलाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा निर्धारित समयमा दुवै टोलीबाट १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। तर, टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट लिनु परेको थियो।

टाइब्रेकरमा एपिएफका लागि सुदिप शिख्राकार, सन्तोष कटवाल, बिकी लामा र आशिष लामाको प्रहारले जाली चुम्दा गोलकिपर रोमन रसाइलीको प्रहारले दिशा लिन सकेन्। यता सहाराका तर्फबाट साहिद, पदम भट्टराई, अनिल गुरुङ र विष्णु गुरुङले गोल गर्दा कप्तान सुशिल लामाले गोल गर्न चुके। सडन डेथमा एपिएफका बुद्धिमान राईले गोल गर्दा सहाराका अन्जन देवकोटाले गोल गर्न सकेनन्। हारसँगै सहारा प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि खेलको १७ औं मिनेटमा घरेलु टोलीका लागि विनोद गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता १ मिनेट पनि टिक्न सकेन। १८औं मिनेटमा एपिएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि खेलअवधिभर दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथबाट लिनु परेको थियो। प्रतियोगितामा शुक्रबार धरान फुटबल क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।  

प्रतियोगितामा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, पुलिस, एपिएफ, हिमालयन शेर्पा, धरान फुटबल क्लब, युनाइटेड सिक्किम र दाउफिन्स फेमिलि गरि १० टोलीको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखका साथ मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै विधागततर्फका उत्कृष्ठ खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र पाउनेछन्। सर्वाधिक गोलकर्ताले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्