हिरासतभित्रै ठगी धन्दा चलाउने नाइजेरियनलाई सघाउने प्रहरी नै



काठमाडौं : अध्यागमन विभागको हिरासतमा रहेका नाइजेरियन नागरिकले प्रहरीकै सहयोगमा ठगी धन्दा चलाउने गरेको खुलेको छ । सहयोग गर्ने विभागकै सुरक्षामा खटिने प्रहरी हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार हिरासत कक्षबाटै ठगी धन्दा चलाउने ४६ वर्षीय जेम्स एडी जेबीलाई विभागको सुरक्षामा कार्यरत प्रहरी हवल्दार चन्द्रदेव भट्टले सघाएका हुन् ।

सिआइबीका अनुसार जेम्सले ठगी गरेको रकम प्रहरी हवल्दार भट्टको एभरेस्ट बैंकको खातामा जम्मा गर्दै आएका थिए । ठगीका लागि हिरासत कक्षमा मोबाइल फोन उपलब्ध गराउने मात्र नभई फोनको रिचार्जसमेत हवल्दार भट्टले गर्दै आएका थिए । धन्दाका लागि उनले जेम्सलाई अध्यागमनको फोनसमेत प्रयोग गर्न दिने गरेको अनुसन्धानबाट खुलेको छ । 

सिआइबीका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले अध्यागमनको हिरासतमा रहेका जेम्सलाई ठगी धन्दामा सघाउने प्रहरी नै रहेको अनुसन्धानबाट खुलेको बताए । ‘अध्यागमनकै हिरासत कक्षबाट सामाजिक सञ्जाल प्रयोग गरी ठगी धन्दा चलेको खुल्यो । उनलाई मोबाइल फोन उपलब्ध गराउने काममा प्रहरी नै संलग्न रहेको पाइयो,’ उनले भने ।

सिआइबीका अनुसार ठगी धन्दामा जेम्सलाई सहयोग गरेको अभियोगमा अध्यामगनको सुरक्षामा खटिएका सात प्रहरीलाई निलम्बनमा राखी आवश्यक कारबाही सुरु गरिएको छ । कारबाहीमा पर्नेमा असइ जितबहादुर आले, प्रहरी हवल्दार भट्ट, प्रहरी जवान राधेचन्द्र यादव, सुजन तामाङ, तानिया भट्ट, सुष्मा बुढाथोकी र प्रेमबहादुर थापा रहेका छन् । 

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले ठगीमा प्रत्यक्ष रूपमा सघाउने र ड्युटी प्रभावकारी ढंगले नगरेको अभियोगमा केही प्रहरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘केही प्रहरी नै ठगी धन्दामा सघाउने काममा संलग्न रहेको पाइयो । केहीले ड्युटी प्रभावकारी रूपमा ननिभाएको देखियो । उनीहरू सबैलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ,’ थापाले भने ।

अध्यागमनकै हिरासत कक्षबाट सामाजिक सञ्जाल प्रयोग गरी ठगी धन्दा चलेको खुल्यो । उनलाई मोबाइल फोन उपलब्ध गराउने काममा प्रहरी नै संलग्न रहेको पाइयो  : एसपी बेलप्रसाद पाण्डे प्रवक्ता, सिआइबी

 यसरी खुल्यो रहस्य 
लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरेका जेम्सलाई स्वदेश फिर्ता गर्न अध्यागमन विभागले आवश्यक तयारी गर्दै थियो । उनलाई विभागको कालिकास्थानस्थित हिरासत कक्षमा राखिएको थियो । यही क्रममा जेम्सले हिरासत कक्षमै दुईवटा मोबाइल फोन किने । सामाजिक सञ्जालमा फेक एकाउन्ट खोले । सोहीमार्फत नेपाली नागरिकलाई फ्रेन्ड रिक्वेस्ट पठाए । काभ्रेनिवासी हरिकृष्ण भट्टराईले रिक्वेस्ट स्वीकृत गरे । फेसबुकमा कुरा गर्न असुरक्षित भएको बताएपछि दुईबीच ह्वाट्स एपमा कुरा हुन थाल्यो । यसमा क्रममा जेम्सले आफू युएस आर्मी भएको बताए ।

सिरियाको अपरेसनमा हुँदा एक धनाढ्यको घरमा छापा मारेको, यस क्रममा मनग्गे रकम फेला परेको, सोही रकम आपसमा बाँड्दा ९० लाख अमेरिकी डलर भाग परेको, सो रकम अमेरिका लैजान नसकेकाले नेपाल ल्याएको, तर कुरियरबापतको रकम बुझाउनुपर्ने रकम आफूसँग नभएको उनले भट्टराईलाई बताए । कुरियर गरेबापतको रकम उपलब्ध गराए ९० लाख अमेरिकी डलरमध्ये केही रकम दिने प्रलोभन पनि जेम्सले दिए । 

भट्टराईलाई उनको गतिविधिप्रति शंका लाग्यो । उनले प्रहरीलाई खबर गरे । घटना विवरण बताएपछि सोहीअनुसार गर्न प्रहरीले उनलाई भन्यो । उनले जेम्सले भनेबमोजिमको एक लाख २४ हजार ६ सय ६० रुपैयाँ गणेश तामाङको बैंक खातामा जम्मा गरिदिए । सो रकम झिकेर गणेश र उनका साथी सुरेश प्रधानले प्रहरी हवल्दार चन्द्रदेव भट्टको बैंक खातामा राखिदिए । त्यसपछि मात्र जेम्सलाई ठगी गर्न अध्यागमनकै प्रहरीले सघाइरहेको रहस्य खुल्यो । जेम्सलाई हिरासत कक्षमा मोबाइल उपलब्ध गराउने, रिचार्ज गर्ने र अध्यागमनको फोन उपलब्ध गराउने कामसमेत उनीहरूले नै गराउने गरेको खुल्यो ।

जेलमा भेटेका थिए जेम्सले सुरेशलाई 

लागुऔषध मुद्दामा जेम्स धुलिखेलस्थित कारागारमा सजाय भुक्तान गर्दै थिए । डाँका कसुरमा सुरेश प्रधान सोही कारागारमा कैदीबन्दी थिए । यही क्रममा दुईबीच परिचय भयो । फोन नम्बर आदानप्रदान भयो । प्रधान जेलबाट छुटे । तर, दुईबीच सम्पर्क भने नियमित हुने गर्थ्यो । ठगी गरेपछिको रकम राख्न प्रधानले नै गणेश तामाङको बैंक खाता उपलब्ध गराएका थिए ।

सिरानीमा भेटियो मोबाइल 

ठगीमा संलग्न फोन नम्बर ट्रेसिङ गर्ने क्रममा लोकसन कालिकास्थान देखियो । लोकेसनलाई न्यारो डाउन गर्दै जाँदा अध्यागमन विभागभित्र देखियो । हिरासत कक्षका थुनुवामाथि शंका उत्पन्न हुनु स्वाभाविक थियो । प्रहरीले हिरासत कक्षका थुनुवाको स्वर पहिचानका लागि अनुसन्धान थाल्यो । यस क्रममा हिरासतमा रहेका जेम्सको स्वर ठगी धन्दामा प्रयोग भएको पाइयो । प्रहरी कक्षभित्र फोनको खोजीमा जुट्यो । तर, फेला नपरेपछि प्रहरी केही दिन चुप बस्यो । फोनमार्फत हुने कुराकानी भने रोकिएको थिएन । प्रहरीले अब हिरासत कक्षको डस्नादेखि सिरानीसम्म च्यातेर हेर्न थाल्यो । यही क्रममा एउटा सिरानीभित्र लुकाइराखिएको दुईवटा फोन फेला पर्‍यो । सिरानीमा जेम्सले नै मोबाइल लुकाएको अनुसन्धानबाट खुल्यो ।  नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्