झापामा चार लाख बिरुवा वितरण गरिँदै



झापाः डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ ।

विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त संख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

सङ्घीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको हो । त्यस्तै संघीय सरकारअन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने उनले बताए ।

टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने भएको हो । “स्थानीय जातका बोटबिरुवा पनि वितरण गर्ने सोच बनाएका छौँ”, उनले भने,“यसबाट वन पैदावारको आपूर्तिसँगै स्थानीय जातका बोटविरुवाको पनि संरक्षण हुनेछ ।”

कार्यालयले असार १५ गतेपछि बिरुवा वितरण गर्ने योजना बनाएको छ । कार्यालयको सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन भइसकेको छ भने फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । “बोलपत्र परिसकेको छ”उनले भने,“लकडाउनका कारण केही ढिलाइ भएको हो ।”

कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने भएको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१-७२ मा सात लाख, आव २०७२-७३ मा आठ लाख ५० हजार, आव २०७४-७५ मा नौ लाख ५० र आव २०७५-७६ मा तीन लाख ४५ हजार बिरुवा वितरण गरेको थियो ।

खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएपछि बिरुवाको माग बढ्दै गएको छ । वन कार्यालयले बिरुवाका लागि निवेदन दिन आउनेलाई १५ र ठूलो क्षेत्रफलमा रुख लगाउने मागपत्र लिएर आउनेलाई आवश्कतानुसार बिरुवा उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्