दल निकट कर्मचारी नेता संघमै समायोजन



काठमाडौं: राजनीतिक दलसँग निकट अधिकांश कर्मचारी नेताहरू संघमै समायोजन भएका छन्। अधिकारिक ट्रेड युनियन तथा राष्ट्रियस्तरका चार कर्मचारी संगठनका अधिकांश पदाधिकारी संघमा समायोजित भएका हुन्। आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल पोखरेल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरे, युनियन (संघ)का उपाध्यक्ष उत्तम कटुवाल, उपमहासचिव यज्ञराज अर्याल, सचिव नवराज पाण्डेलगायतका कर्मचारी नेताहरूको समायोजन संघमा भएको छ।

बुधबार साँझसम्म तीन जना कर्मचारी नेता मात्र स्थानीय तहमा समायोजित भएका छन्। स्थानीय तहमा समायोजित भएका कर्मचारी नेताहरूमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव टेकनाथ न्यौपाने रहेका छन्। पोखरेल खोटाङको हलेसी तुवाचुङ नगरपालिका, देवकोटाको सिन्धुपाल्चोकको बलेफी गाँउपालिका तथा न्यौपानको झापाको बारदशी गाउँपालिकाम समायोजन भएको छ।

मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी, युनियन (संघ)का महासचिव सुभाष कोइराला, नेपाल निजामती कर्मचारी संगठनका महासचिव रेवन्त गौतमलगायतका नेताहरूको बुधबारसम्म सायोजन भएको छैन। यी नेताहरू पनि संघमै समायोजन हुने सम्भावना छ। निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष घिमिरेले संघमा दरबन्दी बढाइएको कारण अधिकांश कर्मचारी संघमा समायोजन भएको बताए।

सरकारले गत माघ २ सम्म समायोजन फाराम भर्न कर्मचारीहरूलाई आह्वान गरेको थियो। सरकारको आह्वान मान्दै ७७ हजार ३४ कर्मचारीले समायोजन फारम भरेका थिए। तीमध्ये ३५ हजार ३ सय ६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकता दिएर फाराम भरेका थिए। यसैगरी १४ हजार २सय ९ कर्मचारीको पहिलो रोजाइ प्रदेश र २७ हजार ४ सय ६१ कर्मचारीले स्थानीय तहलाई पहिलो प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ। समायोजन फाराम भर्दा कर्मचारीहरूलाई ४/५ वटा विकल्प छान्ने अवसर दिइएको थियो। करिब १० हजार निजामती कर्मचारीले भने समायोजन फाराम भरेका छैनन्। समायोजन फाराम नभरेका कर्मचारीलाई सरकारले आफैं खटाउने तयारी गरेको खवर नागरिकमा छ । 

२३ हजारको टुंगो लाग्यो

सरकारले बुधबार साँझसम्म २२ हजार ९ सय १७ कर्मचारी समायोजन गरेको छ। संघीय मामिला मन्त्रालयका अनुसार १७ हजार २ सय ७९ कर्मचारी संघमा समायोजित भएका छन्। समायोजित भएका कर्मचारीमध्ये २ हजार ४ सय ४८ कर्मचारी प्रदेशमा र ३ हजार १ सय ९० कर्मचारी स्थानीय तहमा समायोजन गरिएको संघीय मन्त्रालयका समायोजन महाशाखाका प्रमुख केदार पनेरुले जानकारी दिए।

सरकारले बुधबारसम्म इञ्जिनियरिङ, वन, शिक्षा, प्रशासनन, लेखा, परराष्ट्र, संसद्, लेखा परीक्षण र न्याय सेवाको कर्मचारी समायोजन गरेको छ। कृषि, पशुलगायत प्राविधिक कर्मचारी भने बुधबारसम्म समायोजित भएका छैनन्। पछिल्लोपटक प्रशासन समूका नायब सुब्बा र खरिदार तहका कर्मचारी पनि समायोजित भएका छन्।

माथिल्लो तहका कर्मचारीमध्ये अधिकांश कर्मचारी संघमै समायोजित भएका छन्। ५७ सचिवमध्ये सबै सचिव संघमा समायोजित भएका छन् भने ६ सय ७६ सहसचिवमध्ये १ सय १ सहसचिवको प्रदेशमा समायोजन भएको छ। स्थानीय तहमा भने सहसचिवको समायोजन गरिएको छैन। यसैगरी, २ हजार ६ उपसचिवमध्ये ५सय ७६ प्रदेशमा र २सय ३८ उपसचिवको स्थानीय तहमा समायोजन भएको छ। यसैगरी ४ हजार ६ सय २ शाखा अधिकृतमध्ये ५सय ६८ को प्रदेशमा र ३ सय २६ शाखा अधिकृतको स्थानीय तहमा समायोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्