निजामती विधेयकमा ८१ संशोधन दर्ता



काठमाडौं : प्रतिनिधिसभामा संघीय निजामती सेवासम्बन्धी विधेयकमा ८१ ओटा संशोधन दर्ता भएका छन्।

बिहीबार अपराह्न ४ बजेसम्मको समयसम्म सांसदहरूले सो संख्यामा संशोधन दर्ता गरेका हुन्। अधिकांश सांसदले कर्मचारीको पदपूर्तिको विषयमा संशोधन राखेका छन् भने संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) मा खुला प्रतियोगिताबाट ल्याउनुपर्ने संशोधन प्रस्ताव पनि दर्ता भएका छन्।

सरकारले सहसचिव पदमा खुला प्रतियोगितबाट पदपूर्ति गर्ने व्यवस्था हटाएर विधेयक दर्ता गरेको छ। ‘संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा यति धेरै संशोधन प्रस्ताव आएपछि यो विधेयक संसद्को समितिमा जाने निश्चित भएको छ।

विधेयकमा असन्तुष्टि जनाउँदै निजामती सेवाका कर्मचारी, स्वास्थ्य सेवाका कर्मचारीले आफ्नो हक हित सुरक्षित राख्दै सांसदसँग संशोधन प्रस्ताव राख्न लबिङ गरेका थिए। सांसदलाई साथमा लिएर वा उनीहरूबाट हस्ताक्षर गराएर कर्मचारीहरू संशोधन प्रस्ताव दर्ता गर्न विधेयक शाखामा आउने गरेका थिए। विहीबार दिनभरि नै संसद्को विधेयक शाखा सांसद र कर्मचारीले भरिभराउ थियो।

दफा ८ को उपदफा १ (ज) मा विधेयकले राजपत्रांकित प्रथम श्रेणीमा खुला प्रतियोगिताद्वारा कुनै पनि पदपूर्ति नगर्ने अन्तरसेवा प्रतिस्प्रर्धाद्वारा १० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा ३५ प्रतिशत, कार्यक्षमता मूल्यांकनद्वारा ३५ पदपूर्ति गर्ने आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत राख्ने प्रस्ताव गरेको समाचारद नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्