प्रदेश २ मा मंगलबारसम्म ८१५ संक्रमित, १०४ जना नीको भएर घर फर्के



जनकपुरधामः प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमित थपिएसँगै यस प्रदेशमा संक्रमितको संख्या ८ सय १५ पुगेको छ ।

मंगलबारसम्म १६ हजार ४ सय ४४ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा ८ सय १५ जना संक्रमित भएका छन् भने १० हजार ४ सय २३ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै ५ हजार २ सय ६ जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ७ हजार ३० जनाको परीक्षण गरिएकोमा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार ९ सय ५१ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ८ सय १५ मध्ये सबैभन्दा बढि रौतहटका ३ सय ८ जना रहेका छन् । त्यस्तै १ सय ३१ जना सर्लाहीका,१ सय ६ जना पर्साका,८१ जना धनुषाका,५६ जना सप्तरीका,५५ जना बाराका,४७ जना सिरहाका र ३१ जना महोत्तरीका व्यक्तिहरु छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २८ हजार ८ सय ८५ बेड क्षमताको ३ सय ९४ वटा क्वारेन्टाइनमा अहिले २३ हजार ३ सय ७६ जनालाई राखिएको छ भने ५ हजार ५ सय ८३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ९ सय ९१ बेड क्षमताको आईसोलेशनमा ४ सय ६४ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।

प्रदेश २ मा महोत्तरीका १,धनुषाका ३,सर्लाहीका १,रौतहटका ३,बाराका २ र पर्साका ९३ जना गरि कुल १ सय ४ जना संक्रमितहरु उपचार पश्चात नीको भएर आ-आफ्नो घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्