मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत ढकालविरुद्ध आरोप पत्र दायर



काठमाडौं– मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दश करोड सत्ताइस लाख अन्ठाउन्न हजार चार सय एकसठ्ठी रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो ।

उच्च जीवनयापन गरिरहेकाले छानविन गरी कारवाही गरी पाउँ भन्ने आयोगमा दर्ता हुन आएका उजुरी उपरको अनुसन्धान गरिएको अयोग द्वार जारी प्रस विज्ञप्तीमा भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा निज बद्रीराज ढकालले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निज बद्रीराज ढकाल लगायत निजको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रेस विज्ञप्ति:-

भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकाल मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरुबाट गैरकानूनी रुपमा अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेकाले छानविन गरी कारवाही गरी पाउँ भन्ने आयोगमा दर्ता हुन आएका उजुरी उपरको अनुसन्धानमा निज मिति २०५४।१०।१४ मा अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङ्गबाट रा.प.अनं.द्धितिय श्रेणी खरिदारको पदमा मिति २०५५।०६।१६ मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरी ना.सु. र हाल शाखा अधिकृतको पदमा वढुवा भएका निज निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाण्डौ, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेको देखिन आयो । 

सार्वजनिक सेवामा प्रवेश पश्चात निज बद्रिराज ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइयो भने आफू र आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा संचालित बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाइ आफूले गैरकानूनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउने छिपाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति Mandate लिई निज बद्रीराज ढकालले आफू अनुकूलका व्यक्तिहरु एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गरी गराई सो खातामा मौज्दात रकमहरुबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता एवं जग्गा कारोवारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उक्त खाताबाट आफू अनुकूल रु. ४¸२६¸९९¸२९४।– विभिन्न शीर्षकहरुमा खर्च गरेको देखिन आयो ।

यसैगरी निज बद्रिराज ढकालले आफू तनहुँ जिल्ला स्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही तनहुँ जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी निज र निजको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाइ आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई उक्त जग्गाहरु निज डेकबहादुर गुरुङ्ग र निजको श्रीमती / निज डेक बहादुर गुरुङ्गका सहोदर दिदी / भिनाजु र बहिनी समेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा रु. १¸९७¸०००।– को लगानीमा लगानीको केही दिन र महिनाको अन्तरालमै रु. १¸६८¸००¸०००।– आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आयो ।  

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज बद्रिराज ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा निज बद्रीराज ढकालले आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु.४,५४,१७,२४४।-, घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा रु.१,०१,५३,०८१।-, पूँजिगत लाभ तथा आयकर रु.७,९०,१३०।- विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा रु.१,११,४६,७०१।-, सन्ततीको अध्ययनमा रु.१,६०,०००।-, जीवन बीमा प्रिमियम शुल्कमा रु. ९,२४,६४०।-, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रु. ६४,६३,५११।-, सवारी साधन खरिद तथा संचालनसमेतमा रु. २८,२२,७००।-, सुन खरिदमा रु. १७,३००।-, सरसापटी व्यवहारमा रु. २०,००,०००।-, जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता संचालन गर्ने Mandate लिई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट रु.४,२६,९९,२९४।-, विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु. २,२४,२६,६८९।- निजी विदेश भ्रमणमा रु. ९२,३००।- र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रु. २,६८,९०८।- समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले रु. १४,५३,८२,४९८।- (चौध करोड त्रिपन्न लाख बयासी हजार चार सय अन्ठानब्बे रुपैया) खर्च तथा लगानी गरेको देखिन्छ । 

सोही जाँचअवधिमा निज बद्रीराज ढकालको पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचतआय रु.४९,४४,१६०।-, निजको श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक वचत आय रु.७७¸३६७।-¸ निज बद्रीराज ढकालको वैदेशिक वचत आय रु. १,००,०००।-¸ क.सं.कोष तथा बैंकबाट लिएका कर्जा रु.६८¸९१¸७५१।-¸ घरबिक्रीबाट रु.१¸१५¸००¸०००।-¸ जग्गा बिक्रीबाट रु.१,०८,६७,२००।-¸ शेयर बिक्रीबाट रु.६,९९,२३०।-¸ सवारी साधन बिक्रीबाट रु. १२¸९६¸०००।– र कृषी आय रु.१,००,२७४।- समेत गरी निज बद्रीराज ढकालले जम्मा रु.४,२६,२४,०३७।- (चार करोड छब्विस लाख चौवीस हजार सड्तीस रुपैया) आय आर्जन गरेको देखिँदा आय भन्दा वढि खर्च देखिएको रु.१०,२७,५८,४६१।-(दश करोड सत्ताईस लाख अन्ठाउन्न हजार चार सय एकसठ्टी रुपैया) को आय भन्दा वढी खर्च गरेको रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिंदा निज बद्रीराज ढकाललाई बिगो रु.१०,२७,५८,४६१-(दश करोड सत्ताइस लाख अन्ठाउन्न हजार चार सय एकसठ्ठी रुपैया) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा निज बद्रीराज ढकालले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निज बद्रीराज ढकाल लगायत निजको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 

प्रवक्ता
प्रदीपकुमार कोइराला

प्रतिक्रिया दिनुहोस्