सोमालियाका उप महान्यायाधिवक्ताको गोली हानी हत्या



मोगादिसु: सोमालियाको राजधानी मोगादिसुमा २ सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन्। उपमहान्यायाधिवक्ताले सवारी चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्।

एक जना प्रहरी अधिकृत हसन गेल्लेका अनुसार मोगादिसुको होडान जिल्लाको सिगाल भन्ने ठाउँमा उपमहान्यायाधिवक्ता मोहम्मद मुर्सलको हत्या भएको हो। 'हतियारधारी व्यक्तिले उपमहान्यायाधिवक्तालाई गाडी रोक्न आदेश दिए, अनि गोली प्रहार गरेर हत्या गरे', गेल्लेले पत्रकारहरुसँग भने।

उनका अनुसार हत्या गरेपछि उनीहरुले मुर्सल र उनको गाडीलाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए। घटना भएको केही समयपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो।  अलकायदा आवद्ध अल शबाब समूहले मुर्सलको हत्या गरेको जिम्मेवारी लिएको छ। हत्याको कारण भने नखुलाएको समाचारमा जनाइएको छ।

उनको आमाको पनि हतियारधारीहरुले हत्या गरेका थिए। सन् २०१७ को सेप्टेम्बर २७ तारिखका दिन उनकी आमा अनाब हासीको हत्या भएकाे थियाे। उनी राष्ट्रिय महिला संगठनको महासचिव थिइन्।

प्रतिक्रिया दिनुहोस्