नेपाली सेना सामाजिक कार्यमा सक्रिय



भीमदत्तनगर : कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ ।

पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रको पर्खाल निर्माणमा जुटिरहेको छ ।

चुरेको फेदमा रहेको सेवा केन्द्रमा दुई दर्जन बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । विसं २०५७ मा स्थापना भएको सेवा केन्द्रको चौतर्फी पर्खाल नुहँदा जंगली जनावरको असुरक्षा रहेको थियो ।

सेनाले यहाँ करीब १७० मिटर लम्बाइको पर्खाल निर्माण गरिरहेको छ । पर्खाल निमार्णमा स्थानीय दाताको सामग्री सहयोग रहेको गुल्मका उपसेनानी चेतन छत्कुलीले जानकारी दिए । ‘वृद्धाश्रममा पर्खाल नुहँदा बूढा आमाबुबाले धेरै समस्या झेल्नुपरेको देखेर पर्खाल बनाउन अग्रसर भएका हौं, उनले भने, ‘नागरिक–सैनिक सम्बन्धअन्तर्गत सामाजिक काममा सेना छ ।’

त्योसँगै गुल्मले गत माघको अन्तिम साता पुनर्वास नगरपालिकाको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरेको थियो ।

त्यसैगरी गुल्मले गत पुसको दोस्रो साता यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार चारयि बढीले सेवा लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्