मैथिली सिनेमामय बन्दै प्रदेश २, कलाकारलाई भ्याइनभ्याइ



जनकपुरधाम :  केही समययता प्रदेश दुई मैथिली सिनेमामय बन्दै गएको छ । मधेस आन्दोलनताका सिथिल बनेको मैथिली चलचित्र निर्माणमा आजभोलि बाढी आएको छ । बनेका चलचित्रहरुले च्यारिटी सोबाट कमाइ गरिरहेका छन् भने मैथिली चलचित्र सम्बद्ध कलाकारहरुलाई भ्याइनभ्याइ छ आजभोलि ।

श्री शम्भुनाथ बाबा, बदला एकबेर फेर, दिलु रानी, संस्कार, मधेसीपुत्र ३, इज्जत, छिन्नमस्ता, जय सखडेश्वरी माँ, औकात, दो दिल एक जान’ नामक मैथिली सिनेमाको हाल धमाधम छायांकन भइरहेको छ भने कतिपय मैथिली सिनेमाको सम्पादन, स्वरांकन र डविङ भइरहेको छ ।  

मधेसीपुत्र ३ मा त बलिउडका कलाकारलाई पनि खेलाइदैछ । मधेसीपुत्र २ ले नेपाल बाहेक बिदेशमा पनि राम्रै व्यापार गरेकाले उत्साहित भएर यसको सिक्वेल निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । निर्माणाधीन मैथिली चलचित्र मिशन मधेस पनि राजनीतिक घटनाहरुलाई समेटेर बनाउन लागेको सञ्चारकर्मीसमेत रहेका मैथिली सिनेमाका नायक दिनेश्वरप्रसाद गुप्ताले बताए ।

मैथिली चलचित्र निर्माणको तीब्रतासँगै यसको आकार र आयाममा पनि बढोत्तरी आएको छ । मैथिली चलचित्रको परिधि फराकिलो बन्दै गए पनि यसको पृष्ठभूमि खोतल्ने प्रयत्न भने कतैबाट भएको पाइँदैन ।

मैथिली चलचित्रको इतिहासलाई हेर्ने हो भने सन् १९६५ मा भारतमा पहिलो मैथिली कथानक फिल्मको निर्माण भएको पाईन्छ । फनि मजुमदारद्वारा निर्देशित सो चलचित्र हरिमोहन झाको प्रसिद्ध उपन्यास कन्यादानमा आधारित रहेको थियो । यस चलचित्रमा केही अंश मात्र मैथिली भाषाको प्रयोग भएकोले यसलाई सम्पूर्ण मैथिली चलचित्र मान्न सकिँदैन । यसको कथावस्तुअनुसार नायिकाले मैथिलीबाहेक अन्य भाषा नजान्ने भएकोले नायकले पनि मैथिली सिक्छन् । यस अर्थमा चलचित्रमा मैथिली भाषाको आंशिक प्रयोग भएको हो ।

दोस्रो चलचित्र ‘ममता गाबय गीत’ सम्भवतः सन् १९७० मा रिलिज भएको थियो । यो पूर्ण रुपमा मैथिली चलचित्र थियो । यसैलाई नै पहिलो मैथिली चलचित्र मानिएको छ । यस चलचित्रमा गीता दत्त, सुमन कल्यानपुरी, महेन्द्र कपुरजस्ता गायकहरुले गीत गाएका थिए । अर्र बकरी घाँस खो, भइर नगरीमे शोर बौआ, मामी तोहर गोर मामा, चान सनजस्ता सुमधुर गीतहरुले ‘ममता गावैय गीत’लाई सफल बनाएका थिए । यस चलचित्रपछि मैथिली चलचित्र बन्ने क्रम पूर्ण रुपले रोकिएको थियो ।

त्यसको धेरै वर्षपछि सन् २००२ मा बालकृष्ण झाले मैथिली चलचित्र निर्माण गर्ने साहस जुटाए । झाले ‘सस्ता जिनगी महग सेनुर’को लेखन र निर्देशनको जिम्मा कलाकार मुरलीधरलाई दिएका थिए । ‘सस्ता जिनगी महग सेनुर’लाई मैथिली भाषाभाषीले बडो उल्लासपूर्वक हेरेका थिए । यो सफल मैथिली सिनेमामा दरिएको थियो । मैथिली भाषाको फिल्म पहिलो चोटि हेर्दा वा सिनेमाको पर्दामा कलाकारहरुलाई मैथिली बोलेको र गाएको सुन्दा दर्शकहरु खुबै रोमाञ्चित भएका थिए ।

यस क्रममा  विभिन्न आरोहअवरोह पार गर्दै नेपालमा प्रजातन्त्रको आगमनपछि निजीस्तरबाट पहिलोपटक २०४९ सालमा जनकपुरबाट ‘दहेज’ नामक मैथिली चलचित्रको निर्माण भएको थियो । त्यसपछि बिस्तारै बिस्तारै जनकपुरबाहेक सिरहा, सप्तरी, सुनसरी, विराटनगरबाट पनि मैथिली चलचित्रको निर्माण हुने क्रम बढ्दै गएको छ । तर पनि मैथिलीभाषीहरुको लागि राज्यपक्षबाट मैथिली फिल्मको विकासका लागि योजनाहरु बनाएको देखिंदैन । मैथिली सिनेमा बनाएवापतको सरकारलाई तिर्नुपर्ने सबै प्रकारको कर तिरे पनि सरकारबाट कुनै पनि सुविधा नपाएको मैथिली फिल्म निर्देशक निराजन मेहताको गुनासो छ ।

केही समयअघिसम्म नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष मैथिलीभाषी कलाकार धर्मेन्द्र मरवैता थिए भने सदस्यमा गायक रामा मण्डल पनि थिए । तर पनि तराई मधेसमा निर्माण हुने चलचित्रका बारेमा कुनै छलफल भएन । र यो अवस्था अद्यापि छ ।

मैथिली चलचित्र क्षेत्रको समस्यालाई सरोकारवाला निकायले गम्भीरतापूर्वक नलिएको गुनासो गर्छन् वरिष्ठ मैथिली भाषी गीतकार विनित ठाकुर । उनी भन्छन्-‘नेपालमा मैथिली  कलाकारहरुको यो पहिलो पुस्ता हो जो दुई दशकदेखि मैथिली चलचित्रको जगेर्नामा आफ्नै बलवुताले लागिरहेका छन् । चाहे ठूलो बजेटको होस् चाहे सानो बजेटको तर चलचित्र त मैथिलीनैै हो नि । हामी सबै मिलेर ती कलाकारहरुलाई हौसला दिनुपर्छ ।’

हालसम्म दुई दर्जनभन्दा बढी मैथिली चलचित्रहरु निर्माण भइसकेका छन् । दहेज, ममता, करमभाग्य, प्रियतम, हमरालग रहब, अहां छी हमरा लेल, अपन समाज, पियाभेल परदेशी, माइके ममता, जहियासँ गेलौ विदेश, प्रीतक बाजी, संँगे जियब सँगे मरब, गरीबक बेटी, सुहागिन, मिथिलाक योद्धा, भोैजीके बहिन, कलयुगके शिवभक्त, जियबसंग हम अहिकलेल, बिकल दुलहा मौगीके गुलाम, इज्जत, मधेसीपुत्र, औकात, ईज्जतलगायत मैथिली सिनेमा सफल मानिन्छन् ।

त्यस्तै भीसीडीमा निस्केका मैथिली चलचित्रहरुमा  करम भाग्य, गरीबक बेटी, ममता, हमरा लग रहब, आँहाछी हमरा लेल, प्रितक बाजी लगायतका छन् । त्यसैगरी भारतबाट निर्माण भएका चलचित्रहरुमा सस्ता जिनगी महग सेनुर, सेनुरक लाज, कखन हरब दुख मोर, आउ पिया अपन नगरी, दरुवा बाबु, सवनाके अंगनामे सोलह श्रृंगारलगायत छन् । यसका साथै बजेटको अभावमा करिब एक दर्जन चलचित्र रिलिज हुन बांकी छ ।

त्यस्तै करिब एकदर्जन मैथिली चलचित्र तयार भएर डब्बामा बन्द रहेका छन् । केही त आधा मात्र बनेर रोकिएका पनि छन् । कतिपय बजेटको अभावमा शुभमुर्हुत गरेर थन्किएका छन् । विगतमा निर्माण भएका मैथिली चलचित्रहरुले प्रचारप्रसारको अभावले पनि व्यावसायिक रुप लिन सकेन । पछिल्लो समयमा मैथिली चलचित्रको गुणस्तरमा पनि सुधार हँुदैगएको छ भने प्रचारप्रसारमा पनि ध्यान दिन थालिएको छ ।

मैथिली चलचित्रका वरिष्ठ कलाकार योगेन्द्र देवकाअनुसार सरकारले मैथिली चलचित्र र यसका कलाकारहरुलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्छन । सरकारले तराई मधेसमा निर्माण हुने मैथिली, भोजपुरी, थारु, अवधि भाषाको चलचित्रलाई नेपाली चलचित्रसरह नै कर लिने गरेको छ ।

                            (पत्रकारसमेत रहेका मैथिली सिने कलाकार कमल मण्डलको सहयोगमा )  

प्रतिक्रिया दिनुहोस्