विश्वकप छनोट : युएई ४१ रनमै समेटियो



काठमाडौं: थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोटको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ४१ रनमा समेटेको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन बनायो। चामानी सेनेभिरातानाले सर्वाधिक १३ रन बनाइन् भने बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

युएईलाई सस्तैमा समेट्न नेपालका लागि नेरी थापाले ४ विकेट लिइन्। ६ रन खर्चिएकी नेरीले १ मेडन ओभर फालेकी थिइन्। यस्तै सीता रानामगर,करूणा कुँवर र सोनु खड्काले २-२ विकेट लिए। आजको खेलमा नेपाली टिम जितका साथ कमब्याक गर्न चाहन्छ। पहिलो खेलमा मलेसियालाई हराएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुन पुगेको थियो । युएई तीन खेलबाट छ अङ्क जोड्दै तालीकाको शीर्षस्थानमा छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । 

नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो । प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्