काठमाडौं गोल्डेन्सद्वारा डिपिएल बहिष्कार



धनगढी : आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

शुक्रबार महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो । काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए । उनले भने, ‘सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन् । मैदानको अवस्था पनि राम्रो छैन । फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीको अन्य खेल खेल्न जाने पनि होइन ।’

बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो । काठमाडौं गोल्डेन्सले खेलेका दुई खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको छ । यसैमा काठमाडौैंले असन्तुष्टि जनाउन थालेको थियो ।

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको थियो । काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए ।

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक छ विकेट लिएका थिए । यसबाहेक १५३ रन पनि बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्