शहीद तथा घाइतेका परिवारलाई दुहुनो गाईभैंसी



जनकपुर : मधेस आन्दोलनका शहीद तथा घाइते परिवारलाई प्रदेश २ सरकारले दुहुनो गाई वा भैसी दिने भएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत शहीद तथा घाइतेका परिवारलाई गाई वा भैंसी दिन लागिएको हो ।

कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले शहीद तथा घाइते परिवारलाई जीविकोपार्जनको समस्या देखिएकोले खाद्य तथा पोषण सुरक्षाका साथै आयआर्जनमा समेत सुधार ल्याउन पशुपालन एउटा महत्वपूर्ण माध्यम हुने बताए । उनले आन्दोलनमा शहीद तथा घाइते परिवारलाई घरपरिवार चलाउन आर्थिक रुपले बिचलित भएकाले उनीहरुलाई लक्षित गरी उन्नत नश्लका दुधालु गाई वा भैंसी उपलब्ध गराउन लागिएको बताए ।

कृषिमन्त्री साहले प्रदेश २ को आठवटै जिल्लाका शहीद तथा घाइतेका परिवारलाई यस आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रमअनुसार यस मन्त्रालयमार्फत उपलब्ध गराउन लागेकोले इच्छुक, सक्षम र निकटम नातेदारका सदस्यले यस मन्त्रालयको कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुमा सम्पर्क गर्न सकिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्