‘संघीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो’



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले गाउँ गाउँमा सिंहदरबारको अधिकार संविधानमा भनिए पनि कम्युनिस्ट सरकारले गाउँ नै कब्जा गरेको आरोप लगाएका छन् ।

शुक्रबार जनकपुरधाम आएका अध्यक्ष ठाकुरले द नेपालटपसँग कुरा गर्दै भने–‘केपी ओली नेतृत्वको सरकार कानुन निर्माणदेखि विकास निर्माणसम्मको कुरामा दुई तिहाईको दम्भ देखाएर एकलौटी निर्णय गरिरहेको छ ।’

उनले भने–‘सरकारको हैकमवादी प्रवृति र एकलौटी निर्णयसहित जनताविरुद्धका सबै कुरामा हामी स्वतन्त्र रुपमा विपक्षमा बसी बिरोध गरिरहेका छौ ।’ संघीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेर केन्द्रिकृत गरेर अघि बढिरहेको बताउँदै उनले संघीय सरकारको एकल प्रवृतिविरुद्ध राजपा नेपाल घोर विरोध गर्दैआएको उनले बनाए ।

ठाकुरले भने–‘ओलीलाई सरकार बनाउन हामीले समर्थन गरेका थियौ न कि त्यसको पछिपछि हिंडने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि संघीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौ ।’

सरकारबाट समर्थन फिर्ता लिने नलिने जिज्ञासामा उनले त्यसबारे पनि पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै कुनै निष्कर्षमा पुग्ने बताए । 

प्रतिक्रिया दिनुहोस्