सन्दीपकाे सानदार डेब्यु : उत्कृष्ट बलिङ, महत्वपूर्ण २ विकेट



काठमाडाैं : अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा आफ्नो डेब्यु खेलमै नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् ।

 

नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले पक्तिया प्यान्थर्सविरुद्ध २ विकेट लिएका हुन् । प्यान्थर्सविरुद्ध ४ ओभर बलिङ गर्दै सन्दीपले २३ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरमा सन्दीप महंगो सावित भएका थिए । उनले पहिलो ओभरमा १८ रन खर्चेका थिए ।

 

आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले उत्कृष्ट पुनरागमन गर्दै १ रन मात्रै दिएका थिए । त्यसपछि आफ्नो तेस्रो ओभरमा भने सन्दीपले चमत्कारीपूर्ण प्रदर्शन गरे । उनले यो ओभरमा २ रन खर्चेर २ विकेट लिए ।

 

यो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्यामरुन डेल्पोर्टलाई ६ रनमा आउट गराए । यही ओभरको अन्तिम बलमा सन्दीपले अनुभवी खेलाडी जिम्बाब्वेका सिकन्दर राजालाई शून्य रनमै आउट गराएपछि सन्दीपको चर्चा चुलिएको छ ।

 

आफ्नो अन्तिम ओभरमा सन्दीपले २ रन खर्चिएका थिए । सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए पनि उनको टिमले भने जित्न सकेन । सन्दीपको टिम नगरहर लिओपार्ड पक्तिया प्यान्थर्ससँग ७ विकेटले पराजित हुन पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस्