तिलोत्तमा गोल्डकप : रुपन्देहीलाई पराजित गर्दै दाउफिन्स फाइनलमा



काठमाडौं : क्यामरुनको दाउफिन्स फुटबल क्लब बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक लाली रुपन्देहीलाई २–० गोलले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुगेको हो।

दाउफिन्सको जितमा डिडर टिनाले दुवै गोल गरेका थिए। उनले खेलको दोस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको दाउफिन्स ६८ औं मिनेटमा यात्रिक रेड कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो। घरेलु टोलीका खेलाडीलाई फउल गरेपछि यानिकलाई सोझै रातो कार्ड देखाइएको थियो। तर, १० खेलाडीमा सीमित दाउफिन्सका लागि टिनाले नै ८४ औ मिनेटमा ब्याक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए।

उपाधिका लागि दाउफिन्सले शनिबार हुने नेपाल पुलिस र च्यासल युथ क्लबको बिजेतासंग खेल्नेछ। दाउफिन्सले झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। दुई महिनाअघि खप्तड गोल्डकप खेल्न नेपाल आएको दाउफिन्सले मनकामना केबलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको छ। 

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा जारी प्रतियोगितको विजेताले ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजारका साथै कप मेडल प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्