बालिकामाथि सामूहिक बलात्कार गर्नेलाई १७ वर्ष कैद 



विराटनगर : १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जनालाई जिल्ला अदालत मोरङले जनही १७ वर्ष कैद सजाय सुनाएको छ। बलात्कारमा १५ वर्ष र सामूहिक बलात्कारमा थप २ वर्ष गरेर जनही १७ वर्षको कैद सजायको फैसला मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सुनाएको हो।

अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ का २२ वर्षीय मनोज राई र २३ वर्षीय राजकुमार माझीलाई अदालतले जनही १७–१७ वर्ष कैद सजायको अन्तिम फैसला सुनाएको हो।

गत असोज ६ गते राति राई र माझीले पथरी–शनिश्चरे –७ स्थित शिव पञ्चायत मन्दिरको चउरमा लगेर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।  बलात्कारमा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो। साथीको जन्मदिन मनाउन भनेर घरबाट हिडेकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन। 

प्रतिक्रिया दिनुहोस्