दलित पण्डितको आफ्नै दुःख, भन्छन्: पहिलेको जस्तो इज्जत छैन



जनकपुर : विवाहको मौसम सुरु भएसँगै विश्वकर्मा समुदायका पण्डित ८१ वर्षीय लालबहादुर विकलाई भ्याई नभ्याई छ । धनुषा, सिन्धुली र उदयपुरका विश्वकर्मा समुदायका ६८ घरपरिवारमा विवाह, व्रतबन्ध, श्राद्ध, रुद्रीलगायत कार्यमा उनी पण्डित्याईँ गर्छन् ।

मङ्गलवार बिहान धनुषाको ढल्केवर गाउँको एक विश्वकर्मा समुदायको घरमा स्वस्थानीको पूजा गरिरहेको अवस्थामा भेटिएका उनी आफ्नै समुदायले समेत इज्जत गर्न छाडेकोमा दुखी थिए ।

‘अहो, पहिले पहिले समाजमा पण्डितको बढो इज्जत हुन्थ्यो,’ दश वर्षको उमेरदेखि पण्डित्याँईमा लागेका उनले सुनाए, ‘अहिले पहिलेको जस्तो महत्त्व दिँदैनन् ।’ इज्जत हुन छाडेकैले पण्डित्याँईमा दलित समुदायका युवा पुस्ताको आकर्षण नरहेको उनले बताए ।

समुदायमा पण्डित नभएपछि उनको परिवारले उनलाई संस्कृत पढाएको थियो । ‘उति वेला दलितलाई पढ्ने अनुमति थिएन,’ उनले भने, ‘दलितलाई पढाउँदा समाजले कारबाही गर्ने डरले धेरै आग्रह गरेपछि मास्टरले मलाई लुकेर पढाएका थिए ।’ संस्कृत पढेका उनले महाभारत, रामायण, गीता लगायत धार्मिक ग्रन्थहरू पढिसकेर पण्डित पेसा सुरु गरेको बताउँछन् । 

सुरुमा एउटा विवाहमा पण्डित्याँई गर्दा तीन सुका सम्म दक्षिणा पाएका थिए उनले । आजभोलि विवाह, व्रतबन्धमा पुरेत्याइँ गर्दा एक देखी दुई हजार रुपैयाँ सम्म दक्षिणा पाउँछन् । 

दलित समुदायका युवालाई संस्कृत पढाएर पण्डित बनाउन पहल नभएकोमा उनलाई दुःख लागेको छ । आफ्नो समुदायका पण्डित पाउन छाडेपछि कतिपय दलितहरूले व्राम्हण समुदायका पण्डितलाई विवाहव्रतवन्धमा पढाउन थालेको जानकारी उनले दिए । 

उनको परिवार डेढ दशक अघि पहाडबाट मधेस झरेको हो । धनुषा, ढल्केवरको एक्लेवरका स्थायी बासिन्दा चार छोराका पिता उनी यही पेसाबाट परिवारको गर्जो टार्छन् ।

प्रतिक्रिया दिनुहोस्