निर्मलाका परिवारले गरे तीन महिनादेखिको धर्ना स्थगित



कैलाली : लामो समयदेखि धर्ना बसिरहेका निर्मला पन्तका बुवाआमाले शुक्रबार धर्ना स्थगित गरेका छन् । निर्मलाको बुवाआमा आफ्नी छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्दै आएका थिए । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल गेट अगाडि बसेर छोरीको लागि न्याय माग गर्दै उनीहरूले धर्ना सुरु गरेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गर्नुपरेको परिवारले जनाएको छ । 

यसअघि दुई पटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराज र उनकी कान्छी श्रीमती लक्ष्मीदेवी पन्तको स्वास्थ्यमा खराबी आउन थालेपछि धर्ना स्थगित गर्नुपरेको नागरिक संघर्ष समितिले जानकारी दिएको छ ।  

धर्ना स्थगित गर्नुअघि पीडित परिवारले हत्यारा पत्ता लगाउन तथा दोषी प्रहरीमाथि समेत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्