मिर्गौला र मुटुको निः शुल्क उपचार सेवा बन्द गरिने



बुटवलः बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निः शुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ ।

अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निः शुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो ।

हाल प्रदेश नं.५ मा साढे ६ सयको हाराहारीमा मिर्गाैलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निः शुल्क डायलायसिस सेवा लिँदै आएका छन् ।

अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको ७ करोड ७५ लाख निकासा हुन बाँकी नै रहेको उनको भनाइ छ ।

उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ । साथै बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउंने सप्लायर्सले समेत सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उनको गुनासो थियो ।

उनले भने,“बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहँुंदा नहुंँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक सङ्कटमा पुगेको छ ।” उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र पाल्पाको तानसेनमा १० गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन् ।

यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए । रासस

प्रतिक्रिया दिनुहोस्