जनतालाई पानी खोज्‍न जनप्रतिनिधि जंगल–जंगल



खाँदबारी: संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं । साना मूल मात्र भेट्यौं ।’ उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए ।

मुहान भेटिए उनी गाग्रोमा पानी थाप्न थाल्छन् । कति समयमा भरिन्छ भनेर हिसाब निकाल्छन् । उक्त मुहानबाट पानी ल्याउँदा कति परिवारलाई पुर्‍याउन सकिन्छ भनेर अनुमान लगाउँछन् । यसरी नाप्दा एउटा मुहानबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउने पत्ता लागेको छ ।

पाँचखपनका लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले, डाँडागाउँलगायत ठाउँका बासिन्दाले पाँच वर्षयता पानी समस्या झेल्दै आएका छन् । वडा नम्बर ४, ५, ६, ७ र ८ मा खानेपानीको चरम अभाव छ । नजिकमा मुहान छैन, भएका पनि सुके । पानी अभावमा धेरै परिवार बसाइँ गएका छन् । ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका अन्नपुर्णमा खवर छ । 

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक भीम बम्जन तामाङका अनुसार हिउँद लागेपछि पानीको चिन्ता हुन्छ । ‘खानेपानी अभाव भएपछि जनप्रतिनिधिसहित हामीले धेरै ठाउँमा मुहान खोजी गर्यौं’, उनले भने, ‘सबैलाई पुग्ने मुहान फेला परेको छैन ।’ उनका अनुसार भालुखोप सिरानको मुहानमा अरू मिसाएर गाउँमा पानी ल्याउन सकिन्छ ।

‘सामान्य खालका मुहान फेला परे पनि टाढा रहेका कारण कसरी पानी ल्याउने भन्ने तनाव थपिएको छ’, उनले भने, ‘पानी अभाव हुँदा मेयर आफैं खाली गाग्रो बोकेर मुहान खोज्दै हिँड्नुपर्ने अवस्था आयो ।’ उनका अनुसार २ हजार परिवारलाई धान्न सक्ने मुहान भेटिएको हो । भने, ‘बाँकीका लागि पानीको जोहो कहाँबाट गर्न सकिन्छ भन्ने टुंगोमा पुग्न सकेका छैनौं ।’

४० जनाको जम्बो टोलीमा टोलीमा उपमेयर भीमदेवी राई, वडाध्यक्षहरू पाँचपखन–४ का काजीमान तामाङ, ५ का रामबहादुर तामाङ, ६ का नरेशकुमार श्रेष्ठ, ७ का कृष्णबहादुर खड्का, ८ का छत्रबहादुुर न्यौपाने र ९ का कुलबहादुर तामाङ संलग्न छन् । यस्तै वडासदस्य, प्राविधिक, स्थानीय शिक्षक र गाउँका अगुवा पनि छन् ।

बजेट ५० लाख, लाग्ने १५ करोड

मेयर राईका अनुसार मुहान खोजी र योजना सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, यो बजेट पूर्वाधार तयार गर्नमै खर्च हुने देखिएको छ । थप रकमका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले सुनाए । विभिन्न मुहानलाई एकत्रित गरी पानी ल्याउन १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान प्राविधिकले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्