भारत–पाक द्वन्द्वले सार्क सम्मेलन अनिश्चित



काठमाडौं: काठमाडौंमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ शिखर सम्मेलन (१०–११ मंसिर २०७१) ले २०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय ग-यो । तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । अहिले फेरि २ फागुनमा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी जम्मु कास्मिरमा भएको आतंकवादी हमलासँगै भारत र पाकिस्तानको सम्बन्ध बिग्रेका कारण सार्कको १९औँ सम्मेलन अन्योलमा परेको छ । 

 सार्ककै भविष्यमाथि प्रश्न

विज्ञहरूले सार्ककै भविष्यमाथि प्रश्न उठाउन थालेका छन् । अघिल्लो घटनामा पाकिस्तानलाई दोषी देखाउँदै भारतले आतंकको माहोलमा सार्क सम्मेलन इस्लामावादमा हुन नसक्ने धारणा सार्वजनिक ग-यो । भुटान र बंगलादेशले भारतलाई साथ दिएपछि सम्मेलन हुन सकेन र सम्मेलन स्थगित भयो । नेपालले १६ असोज २०७३ मा विज्ञप्ति जारी गरी आतंककारी हमलाको निन्दा ग-यो । क्षेत्रीय सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै नेपालले सार्क सम्मेलन पनि  हुनुपर्नेमा जोड दिँदै आएको थियो । त्यसयता भारत र पाकिस्तानबीच जारी विवाद साम्य नभए पनि नेपालले सम्मेलनका लागि कोसिस गर्दै आएको थियो ।  

कास्मिरको पुलवामा भन्ने स्थानमा २ फागुनमा भएको आतंककारी हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्युसँगै भारत र पाकिस्तानको सम्बन्ध थप चिसिएको छ । योसँगै सार्क सम्मेलन अनिश्चित भएको छ । नेपालले सन् १९८७ मा तेस्रो र २००२ मा ११औँ शिखर सम्मेलन आयोजना गरेर अध्यक्षता हस्तान्तरण गरेको थियो, यसपटक भारत–पाकिस्तान तनाव बढ्दै जाँदा नेपालको प्रयास सफल हुन सकेको छैन । सार्कको १८औँ सम्मेलन १० र ११ मंसिर ०७१ मा काठमाडौंमा भएको थियो । ३ र ४ चैत ०७२ मा पोखरामा बसेको सार्क मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) बैठकले १९औँ सम्मेलन २४ र २५ कात्तिक ०७३ मा पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो । 

 काठमाडौं घोषणापत्र अलपत्र

१८औँ सम्मेलनका वेला नेपाललाई तीनवटा संयोग मिलेको थियो । सार्कको राजधानी काठमाडौं, सार्कको अध्यक्ष मुलुक नेपाल र नेपाली अनुभवी कूटनीतिज्ञ अर्जुनबहादुर थापा सार्क सचिवालयका महासचिव । महासचिवबाहेक बाँकी यथावत् रहे पनि सार्कको भविष्य नै यथावत् छैन । ३६ बुँदे काठमाडौं घोषणापत्र कार्यान्वयन पनि यकिन छैन । १८औँ सम्मेलनले २०१७ मार्चदेखि लागू हुने गरी सार्कको नयाँ महासचिवमा पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी सियालको नाम प्रस्ताव गरे पनि १९औँ सम्मेलन नहुँदा अनुमोदन भएको छैन । अमजदले महासचिवको कार्यभार भने सम्हाल्दै आएका छन् । 

१९८७ को काठमाडौं शिखर सम्मेलनले सार्कलाई आतंकवादको छाया र प्रभावबाट मुक्त गर्ने प्रस्ताव पारित गरेको थियो । यसका लागि सूचना आदान–प्रदान गर्नेसमेत समझदारी भएको थियो । यस विषयमा पटक–पटक बैठक बसे पनि प्रभावकारी कार्यान्वयन नभएको खवर नयाँपत्रिकामा छ ।  १९८५ डिसेम्बरमा विधिवत् स्थापना हुँदा सात सदस्य राष्ट्र नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र पाकिस्तानको सहमतिमा सार्कको बडापत्र र झन्डा तयार भएको थियो । ९ अप्रिल २००७ मा १४औँ शिखर सम्मेलनसँगै अफगानिस्तान थपिएको थियो । तर, अफगानिस्तान थपिएको संकेत बडापत्र र झन्डामा छैन । सार्कमा युरोपियन युनियन, चीन, जापान, इरानसहित नौवटा पर्यवेक्षक छन् । १८औँ सम्मेलनसम्म जोड्दा सार्कका जम्मा सात सय ६५ बुँदे घोषणापत्र जारी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्