प्रदेश २: राज्यमन्त्रीका सहयोगीसहित ६ जनामा कोरोना पुष्टि



जनकपुरधाम: धनुषामा राज्यमन्त्रीका एकजना सहयोगीसहित ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

आज भेटिएका संक्रमितहरु मध्ये ५ जना प्रदेश २ को प्रदेशसभामा कार्यरत मर्यादापालकहरु रहेका छन् भने एकजना राज्यमन्त्रीको सहयोगी रहेको बताईएको छ ।

गत जेठ १६ गते प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी,मर्यादापालक, मन्त्रीका सुरक्षा गार्ड,चालकसहितका गरी ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा पठाईएको थियो ।

जसमध्ये ५ जना मर्यादापालकमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

त्यस्तै आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको एकजना महिला सहयोगी रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार आज भेटिएका ६ जना संक्रमितलाई उपचारका लागि आईसोलेशनमा लगिएको छ ।

प्रदेशसभामा कार्यरत मर्यादापालकमा संक्रमण देखिएपछि आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेशसभालाई सेनिटाईज गरिसकिएपछि प्रदेशसभाको बैठक भोली दिउँसो १ बजे बस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्