तीन दिनसम्म पानीमा उभिएर मृत्युलाई पर्खिरही गर्भवती हात्ती



एजेन्सी : दक्षिण भारतको केरला राज्यमा एक गर्भवती हात्तीलाई भुँइकटहरमा विस्फोटक पदार्थ भरेर खान दिएपछि हात्तीको मृत्यु भएको छ ।

उक्त हात्तीको मृत्युपछि विश्व समुदायमा मानवतामाथि नै प्रश्न उठ्न थालेको छ । केही उछृङ्खल व्यक्तिहरुले हात्तीलाई विस्पोटक पदार्थ भरिएको भुँइकटहर खान दिनुले जनावरमाथि मानवता पतन भएको हो कि भन्ने सवाल उठ्न थालेको छ ।

केरलाका वन विभागका अधिकारीहरुले १४ देखि १५ वर्षको उक्त हात्ती घाइते अवस्थामा पानीमा डुबेर बसेको बताएका छन् ।

उक्त हात्ती तीन दिनसम्म उभिएर सुँढ भेलियार नदीमा डुबाएर बसिरहेको थियो । मुख पानीभित्र डुबाएर बसेको हात्तीको उपचारका लागि खटिएका चिकित्सकको टोलीले कुनै पनि मद्दत गर्न असमर्थ भयो ।

साइलेन्ट भ्याली नेशनल पार्क पलक्कडका वार्डेन सेमुअल पचाऊले बीबीसीलाई भने, ‘हामीले हात्ती घाइते भएको ठाउँ त पत्ता लगाउन सकेनौं । हात्ती तीन दिनसम्म नदीमा डुबेर बसिरहेको थियो । सायद उसलाई केही राहत मिलेको थियो होला । उसको दुवै बंगरामा गम्भीर चोट लागेको थियो । उसका दाँतहरु पनि टुटेका थिए ।’

पल्लकड जिल्लास्थित मन्नारकन्ड इलाकाका वन अधिकारी सुनील कुमारले भने, ‘वन विभागका अधिकारीहरुले उक्त हात्तीलाई मे २५ मा भेट्टाएका थिए । यो भड्दिँदै र छट्पटिँदै नजिकैको खेतमा गएको थियो । सायद आफ्नो पेटमा भएको शिशुलाई खाना खुवाउन खोजिरहेको थियो ।’

घाइते भएको हात्ती गाउँबाट कुद्दै निस्किएको र उसले कसैलाई कुनै हानी समेत नगरेको वन अधिकारीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्