९० प्रतिशत बजेट सडकमै खर्च



बुटवल:  प्रदेश ५ का धेरै स्थानीय तहले ७ महिनाको अवधिमा सडक बजेट मात्रै धेरै खर्च गरेका छन् । बजेट विनियोजनमा पनि पहिलो प्राथमिकता सडक नै थियो । सडकपछि भौतिक पूर्वाधार निर्माणमा धेरै बजेट खर्च भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कलकारखाना र उद्योगधन्दाका क्षेत्रमा न्यून बजेट खर्च भएको छ । रूपन्देहीका १६ स्थानीय तहमध्ये धेरैले पूर्वाधार विकासको ९० प्रतिशत बजेट सडकमा लगाएका छन् । कच्ची र ग्राभेल सडकमा धेरै बजेट खर्च गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले पूर्वाधार विकासको करिब ९२ प्रतिशत बजेट सडकमा लगाएको छ ।

कच्ची सडकका कारण नगरपालिका पछाडि परेकाले धेरै रकम यसैमा खर्चिएको नगरप्रमुख मनमोहन चौधरीले बताए । ‘पक्की सडक निर्माणलाई प्राथमिकतामा राखेका छौं तर कच्ची सडक नबनाई नहुने भएकाले रोक्न सकिएन,’ उनले भने । बुटवल उपमहानगरपालिकाले पनि बजेटको ठूलो हिस्सा सडक र नाली निर्माणमा लगाएको छ । उपमहानगरपालिकाले चालु बजेटमा विकास बजेटको ६० प्रतिशत तथा पूर्वाधारको करिब ८५ प्रतिशत बजेट सडकमा लगाएको छ ।

चालु आर्थिक वर्षको बजेटअनुसार कच्ची सडकको स्तरोन्नतिमा १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । पक्की सडक मर्मत–सम्भारका लागि ३ करोड ४० लाख रकम छुट्याइएको छ । यसबाहेक सडक निर्माण शीर्षकमा ३ करोड ७४ लाख बजेट छुट्याइएको छ । उपमहानगर प्रमुख शिवराज सुवेदीले सडक विकासको न्यूनतम मापदण्ड भएकाले धेरै बजेट त्यसमा लगाएको बताए । सडकको विकासबाट बजार, शिक्षा, स्वास्थ्यलगायतमा पहुँच बढाउन सकिने भएकाले धेरै बजेट त्यसमा खर्चिएको उनले बताए ।

उपमहानगपालिकाको टोल विकास संस्थाका सहसंयोजक ज्योति अर्यालले विकास भनेको सडक मात्रै हो भन्ने उपमहानगरपालिकाका कर्मचारी र केही उपभोक्ताका कारण बजेटले धेरै क्षेत्र समेट्न नसकेको बताए । ‘सडक राम्रो भएर मात्रै विकास हुने होइन, यसका लागि शिक्षा,स्वास्थ्य, वातावरण, खानेपानी, विद्युतीकरण, फोहोर व्यवस्थापन सबै राम्रो हुनुपर्छ,’ उनलेभने, ‘धेरै उपभोक्ता र जनप्रतिनिधिले यो कुरा बुझेका छैनन् ।’

सैनामैना नगरपालिकाले पूर्वाधार विकासको करिब ८५ प्रतिशत बजेट सडकमा लगाएको छ । स्थानीयको माग र सहरी विकासको पहिलो पूर्वाधार भएकाले बजेटको ठूलो हिस्सा सडकमा लगाएको नगरपालिकाको तर्क छ । नगरप्रमुख चित्रबहादुर कार्कीले सडक र नाली व्यवस्थित नभए प्राकृतिक प्रकोप आउन सक्ने, दुर्घटना हुने, नगरको सुन्दरता नदेखिने कारणले पनि स्थानीय तहको कार्यविधिअनुसार बजेटको ठूलो हिस्सा सडकमा लगाएको बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यस वर्ष सबै वडामा नगरको गौरव योजना भन्दै २५ देखि ३० लाख रुपैयाँ सडक र ढल निकासका लागि छुट्याएको थियो । अहिले खर्च पनि त्यसकै बढी भएको छ । चक्रपथ निर्माणदेखि ५ वर्षभित्र नगरका सबै सडक कालोपत्रे गर्ने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । अधिकांशमा सडक र ढल निकासलाई गौरवको योजना र ठूलो योजनामा पारिएको छ ।

जिल्लाका ७ स्थानीय तह सबैले सडकमा विनियोजन गरेको ५० प्रतिशत बजेट खर्चिएका छन् । एउटा स्थानीय तहले कम्तीमा २० देखि ४० वटासम्म सडक मर्मत र कालोपत्रेका लागि भनेर बजेट विनियोजन गरेका थिए । रामग्राम नगरपालिकाले यस वर्ष सडकको मात्रै ५० भन्दा बढी योजना पारेको थियो । बर्दियाका धेरै स्थानीय तहले सडक ग्राभेल र कालोपत्रेका लागि छुट्याइएको धेरै बजेट खर्च गरेका छन् । अधिकांश सडकका योजना उपभोक्तामार्फत गराइए पनि ५० प्रतिशत बढी काम हुन सकेको छैन ।

६ नगरपालिका र २ गाउँपालिकामध्ये मधुवन नगरपालिकामा भौतिक पूर्वाधारको ४० प्रतिशत बजेट खर्च भएको छ । यो नगरपालिकाले ३४ किमि ग्राभेल सडक स्तरोन्नति र ५ किमि कालोपत्रेका लागि २६ करोड रूपयाँ छुट्याएको थियो । सडक ग्राभेल र स्तरोन्नतितर्फ ५० प्रतिशत रकम खर्च भएको छ । कालोपत्रे भने २ सय मिटर मात्र भएको प्रशासकीय अधिकृत गोपाल तिमिल्सेनाले बताए । हालसम्म सडकमा मात्रै ३ करोड २६ लाख खर्च भएको छ । गुलरिया नगरपालिकाले नगरस्तरीय सडक योजनामा ६० प्रतिशत काम भएको दाबी गरेको छ । अहिलेसम्म सडकमा ८ करोड ४ लाख रुपैयाँ खर्च भएको छ । गेरुवा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ३० प्रतिशत सडक बजेट भुक्तानी भइसकेको बताए ।

पूर्वाधारमा धेरै खर्च

रोल्पाका १० वटै स्थानीय तहले करोडौं बजेट पूर्वाधारमा खर्चिएका छन् । हरेक स्थानीय तहले वडा कार्यालय जोड्न, अघि खनिएका सडकको मर्मत तथा जनप्रतिनिधिका गाउँ जोड्न सडकमै बजेट विनियोजन गरेका थिए । सबै तहले छुट्याएको विकास बजेटभन्दा प्रशासनिक, तलबभत्ता र भैपरि आउने खर्चमा बजेट खर्चिंदै आएका छन् । मध्य रोल्पास्थित परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले गाउँघरमा थुप्रै प्रकारका योजना भएकाले सहमतिअनुसार बिस्तारै सम्बोधन गर्न थालिएको सुनाए । ‘विगतको भन्दा गाउँघरको विकास गति छिटो भएको छ,’ उनले भने ।

पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिकाले सबैभन्दा बढी बजेट खरको छाना फेर्न लगाएको छ । उसले चालु आर्थिक वर्षमा ५० लाख बजेट यसमा छुट्याएको थियो । त्रिवेणी गाउँपालिकाले करिब २० करोड बजेट पूर्वाधार विकासकै लागि विनियोजन गरेको थियो । चालु आर्थिक वर्षका लागि प्राप्त ३४ लाख बजेटमध्ये पूर्वाधारतर्फ सडक निर्माण, मर्मत र सडकको नाली बनाउन बजेट खर्च गरिएको खवर कान्तिपुरमा छ । 

शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका लागि न्यून बजेट खर्च भएको गाउँपालिकाका सहलेखापाल उमेश केसीले बताए । यस्तै चालु आर्थिक वर्ष २४ करोड बजेट प्राप्त भएको पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकामा पनि पूर्वाधारमै बजेट खर्च भएको छ । नागरिकका खरका छानो फेर्न अनुदान प्रदान गर्ने गरी ठूलो बजेट विनियोजन गरिएको अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए । सुनछहरी गाउँपालिकाले पनि पूर्वाधार निर्माणमै बजेट खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्