पूर्वराजा ज्ञानेन्द्रको आँखा पूर्वतिर



काठमाडौं: पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहनुभएका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा रहनुभएको छ।

काठमाडौंमा नातेदारको विवाहमा समेत सहभागी नभएर सुरक्षाकर्मीसहित एक्लै दमक बस्दै आउनुभएका ज्ञानेन्द्रको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर तय भएको छ। त्यसपछि तराईका सिराहा, सप्तरी, महोत्तरी, काँकडभिट्टा, उदयपुरलगायत एक दर्जनभन्दा बढी जिल्लाको भ्रमणको तय गर्नुभएको छ। उच्चस्रोतका अनुसार धार्मिक भ्रमणका लागि सिक्किम र दार्जिलिङको कार्यक्रमसमेत तय भएको छ।

भारत भ्रमणको विषयमा अहिले कुनै निर्णय नभए पनि उच्च सम्भावना रहेको स्रोतको भनाइ छ। जिल्ला भ्रमणको सुरक्षालगायतका विषयमा जानकारी लिन यही दोस्रो सातादेखि रेकी गर्ने कार्यक्रम तय भएको छ। पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिनालगायतका पाहुना काठमाडौं फर्किएपछि दमकमा एक्लै बस्दै आउनुभएका ज्ञानेन्द्रले भ्रमणको तयारी गरिरहनुभएको छ।

कोमल दुई सातापछि हिजो शुक्रबार आफन्तको विवाहमा सहभागी हुन काठमाडौं आउनुभएको हो। श्री शमशेरको छोरा, नरशमशेरका नातिको विवाहमा सहभागी हुन कोमलसहितको आफन्त काठमाडौं आएका हुन्। यही १४ गते निजी सचिव तिमल्सिनासहित केही कर्मचारी दमक पुगेपछि रेकी गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

जिल्लास्थित विभिन्न धार्मिकस्थल भ्रमणको तयारी गर्न स्थानीय राजावादी र विभिन्न दलका कार्यकर्ता लागिरहेका छन्। समितिमार्फत ज्ञानेन्द्रको भ्रमणको मिति तोकिएको छ। हिन्दू धर्म र राजतन्त्र विषयमा तातो बहस चर्किंदै गएको अवस्थामा ज्ञानेन्द्रको दौडाहालाई महत्वका साथ हेरिएको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्