विदेशबाट उद्धार गरी नेपाल ल्याइएकालाई यी ठाँउमा राखिने



काठमाडौंः कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकलाई सरकारले शुक्रबारदेखि उद्धार गरी नेपाल ल्याउने भएको छ ।

त्यसरी उद्धार गरी स्वदेश ल्याइएका नागरिकलाई राख्न छुट्टा छुट्टै होल्डीङ सेन्टरको सरकारले ब्यवस्था गरेको छ । त्यसरी ल्याइएका नागरिकलाई भक्तपुर, ललितपुर र काठमाडौंमा बनाइएका होल्डीङ सेन्टरमा राखिने छ ।

उनीहरुलाई बिमानस्थलदेखि होल्डीङ सेन्टरसम्म ल्याउन नेपाली सेनाले नेतृत्व गर्नेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विमानस्थलबाट नेपाली सेनाको संयोजनमा साँझा यातायतमार्फत होल्डिङ सेन्टरसम्म पुर्याइने छ ।

प्रदेश अनुसार छुट्टाछुट्टै प्रदेश १ र २ का मानिसलाई भक्तपुर, बागमती, गण्डकी र प्रदेश ५ का मानिसलाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिने छ । उनका अनुसार प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरिएको छ ।

त्यसैगरी वागमती, गण्डकी र प्रदेश नं.५ का नागरिकलाई धुम्बाराहीस्थित स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्टमा राखिने छ । यस्तै कर्णाली र सुदूरपश्चिमका नागरिकहरूलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्