धनुषामा लकडाउनको मौका छोपी क्रसर माफियाद्धारा अवैध उत्खनन् जारी, विरोध गर्दा स्थानीयलाई ज्यान मार्ने धम्की



जनकपुरधामः धनुषामा लकडाउनको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।

लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन अझै रोकिएको छैन् । यस्ता अवैध कार्य बढ्दै गएपनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन् । बरु अवैध उत्खनन बिरुद्ध आवाज उठाउँदा स्थानीयलाई ज्यान मार्नेसम्मको धम्की आईरहेको बताइएको छ ।

लकडाउनकै समयमा क्रसर डनहरुले अवैध उत्खनन गरेका कारण ऐलानी पर्ती जग्गाहरुमा ठूल्ठूला खाडलहरु भईसकेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर-६ स्थित मालटोलको वनमा जगधर खोला नजिकै रहेको ऐलानी जग्गामा क्रसर डनहरुले गरेको अवैध उत्खननका कारण ४० देखि ४५ फिट गहिराईसम्मका एक दर्जन बढी खाल्डोहरु रहेका छन् ।

यो अवैध उत्खनन् बिरुद्ध मालटोलका स्थानीयवासीहरु कयौं पटक आवाज पनि उठाउँदै आईरहेका छन् । कति पटक उत्खनन कार्य रोक्न समेत लगाएका छन् । तर पटक पटक क्रसर डनहरुले उनीहरुको आवाजलाई कुल्चदै यो कार्यलाई निरन्तर जारी नै राखेका छन् ।

नियमानुसार खोलाबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भएपनि स्थानीय ठेकेदार आनन्द किशोर साह र उनका गिरोहले स्थानीयलाई धम्काउँदै अवैधरुपमा नदीबाट दिनहुँ लाखौँको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैधरुपमा उत्खनन गर्दै आइरहेका छन् । कारोबारीहरुले नदीजन्य पदार्थको उत्खनन गरेर त्यसै ठाउँमा डम्पिङ गरेर राखेको पाइएपनि स्थानीय प्रशासनले वास्ता नगर्दा नियन्त्रणमा समस्या देखिएको हो । खोला नजिकै करिब ४० करोड मूल्य बराबरको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) डम्पिङ गरेर राखिएको छ ।

बिहिबार पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले समेत उत्खनन भएको स्थलको अनुगमन गरेका छन् । स्थानीय प्रशासन तथा जनप्रतिनिधि लगायतको संलग्नता बिना यो सम्भव नरहेको बताए । उनले यस विषयमा हाम्रो चासो जान नसक्नु दुःखद रहेको भन्दै यी अवैध कार्य नरोकिए आफु जनताको पक्षमा उभिने र त्यसपछिको परिणामको जीम्मा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिए ।

यसअघि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य रामचन्द्र मण्डल लगायतका पदाधिकारीहरु समेत त्यहाँ पुगेर उत्खनन् बन्द त गराए तर अनुगमन गरेर फर्केको करिव आधा घण्ट भित्रै फेरी उत्खनन सुरु भएको स्थानीय सुरेश दासले बताए । उनले भने,‘आफूहरु त्यसको प्रतिकार गर्नका लागि पुग्दा उल्टै आफूहरुलाई लखेट्दै भगाएका थिए ।’

स्थानीयहरुको ज्यान जोखिममा
धनुषामै अवैध उत्खनन बिरुद्ध आवाज उठाएकोले मिथिला नगरपालिकाका युवक दिलीप महतोको केही महिना अगाडी हत्या गरिएको थियो । हत्यामा संलग्नहरु अहिले प्रहरीको फन्दामा छन् । यता धनुषाधाम नगरपालिका वडा नम्बर-६ मालटोलको स्थिति पनि यस्तै भयावह रहेको छ । त्यहाँ पनि अवैध उत्खनन बिरुद्ध आवाज उठाउने स्थानीयहरु भयभित छन् ।

स्थानीय राधा लामाले भनिन,‘हामीले यहाँ उत्खनन् गर्न दिनु हुँदैन भनेका थियौँ तर हाम्रो कुरो कसैले सुनेनन् । सुरुमा कसैले नबोलेकै कारण क्रसर डनहरुको मनोबल बढेको छ ।’ अवैध उत्खनन् बिरुद्ध आवाज उठाउँदा ठेकेदार आनन्द किशोर साहका लठैतहरु घर घेराउ गरेको उनले दुःखेसो सुनाईन ।

यता स्थानीय सुरेश दासले आफुहरुको जीउ ज्यानको रक्षा तथा शान्ति सुरक्षाका लागि ढल्केवर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिंदा समेत जाहेरी लिन नमानेको गुनासो गरे । उनले भने,‘हामी आफ्नो जीउ ज्यानको रक्षाका लागि प्रहरी समक्ष पनि पुग्यौँ, तर माथिदेखि तलसम्म सबै मिलेका छन् ।’

त्यस्तै स्थानीय मीना मोक्तानले वडाध्यक्ष बिरुद्ध आक्रोश पोखिन । उनले यस्ता कामहरु अवैध रहेको जानकारी हुँदाहुँदै पनि उत्खननका लागि वडाध्यक्षले किन सिफारिश गरेको भन्दै प्रश्न गरिन ।

यता वडाध्यक्ष बन्दे मोक्तानले आफुले सुरुमा उत्खननका लागि स्वीकृति नदिएको तर नगर प्रमुख बालेश्वर मण्डलले दवाब दिएपछि सिफारिस गरेको स्वीकारे । उनले भने,‘मेयर साहबले पोखरी खन्नका लागि मात्रै ५ फिटसम्म उत्खनन गर्ने भनेपछि आफुले सिफारिस गरे ।’
अवैध उत्खनन बारे आफूहरुलाई जानकारी रहेको स्वीकार गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीयको जीउ ज्यानमा क्षति पुग्न नदिने दावी गरे । उनले भने,‘सम्पूर्ण जिल्लाको शान्ति सुरक्षाको जिम्मा हाम्रो नै हो, हामी शान्ति सुरक्षा दिन सदैव तत्पर छौँ ।’

स्थानीय सरकार बेपरवाह

धनुषाधाम नगरपालिका वडा नम्बर-६ मालटोलमा पोखरी उत्खनन्का लागि दुई वर्ष अगाडी २०७५ साल पुस ८ गते अनुमति दिएको पाइएको छ । सो पत्रमा जीवनराज श्रेष्ठको नाउँमा कित्ता नम्बर ३७ मा रहेको निजि जग्गामा उत्खननका लागि अनुमति दिइएको पाइएको छ । नगरपालिकाबाटै २०७६ फागुन ५ गते नियम भित्र रही सार्वजनिक जग्गामा क्षति नपुग्ने गरी पोखरी खन्नका लागि सिफारिश गरिएको पाइएको छ । नगरपालिकाको पत्र अनुसार सो ठेक्का धनुष बाबा कन्सट्रक्सनलाई दिइएको छ । पोखरी खन्नका लागि २०७७ असार मसान्तसम्मको समय दिइएको छ ।

निजि जग्गामा पोखरी खन्नका लागि सिफारिश गरिएको भएपनि ठेकेदारहरुले जगधर खोलाको नजिकै रहेको ऐलानी जग्गाको १५ बिघाभन्दा बढी जग्गामा अवैध रुपमा उत्खनन गरेका छन् । स्थानीय तहको लापरवाहीकै कारण ठेकेदारहरु सो जग्गामा अवैध उत्खनन् गर्न पछाडी नपरेको स्थानीयको आरोप छ ।

स्थानीयहरुकै दवाबका कारण नगरपालिकाले २०७७ जेठ १३ गते तोकिएको जग्गामा उत्खनन नगरिएको तथा मापदण्ड भित्र नरही उत्खनन गरिएकोले सो जग्गालाई अबिलम्ब पुर्नका लागि पत्र समेत जारी गरेको थियो । यद्यपि अहिलेसम्म अवैध उत्खनन कार्य भने रोकिएको छैन् ।
यस विषयमा अनभिज्ञयता प्रकट गर्दै धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले यदि त्यस्तो भएको छ भने आफूहरु कारबाही गर्न पछाडी नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले स्थानीय तहका प्रतिनिधिहरुर जिम्मेबार हुन नसकेका कारण अवैध उत्खनन् रोक्न कठिनाई भई रहेको बताए । उनले जिससले नगरपालिकाको.प्रतिनिधि मात्रै राखेर उत्खनन् गर्न पत्र काटेपनि सो अनुरुप स्थानीय तहले कार्य गराउन नसकेकाले यस्तो स्थितिको श्रृजना भएको बताए ।

निजि जग्गामा पनि ठेकेदारले उत्खनन गर्न लगाएको देखिएको छ । ठेकेदारले रातको समयमा स्काभेटर प्रयोग गरेर तोकिएभन्दा बढी मात्रामा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेका मात्रै छैनन् । त्यसको डम्पिङसमेत अवैध ढंगले गरिरहेका छन् ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ को नियम १० को संकलन, भण्डारण र घाटगद्दीको व्यवस्थासम्बन्धी दफा २ को उपदफा (१) बमोजिम घाटगद्दी स्थान छनोट गर्दा उत्खनन् संकलन स्थलबाट न्यूनतम पाँच सय मिटरको दुरी कायम गर्नुपर्ने व्यवस्था रहेपनि धनुषाधाम नगरपालिका वडा नम्बर-६ मालटोलमा मात्र ५० मिटरको दुरीमा घाटगद्दी गरेर राखिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्