कोरोना संक्रमण न्यूनीकरणमा प्रभावकारी बन्दै होमियोप्याथिक औषधी, एक सातामा १५ लाखले गरे प्रयोग



काठमाडौं– चीनको वुहान शहरबाट गत डिसेम्वरको अन्तिममा कोरोना भाइरसको संक्रमण फैलिँदा यतिसम्मको भयावह बन्छ भनेर सायद मानव जातीले कल्पना पनि गरेका थिएनन् । चीनमा एक जना दुई जना गर्दै फैलिएको संक्रमण ६ महिनाको अवधिमा २ सय १३ देश र भूभागमा फैलिसकेको छ । कोरोनाको औषधी कहिले बन्छ भन्ने टुङ्गो लागेको छैन तर विश्वभरका वैज्ञानिकहरू औषधीको खोजीमा छन् भने मानिसहरू प्रतिक्षामा ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितहरू दिनमा संयौंको संख्यामा बढिरहेका छन् । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढी नै रहेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले केही साता नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘आयुर्वेद र रोकथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी होमियोप्याथिक उपचार पद्धतीको समेत प्रोटोकल तयार पारेको जानकारी दिएका थिए ।

होमियोप्याथिक औषधी ‘आर्सेनिकम एल्बम ३० सि’ निकै प्रभावकारी भएको मित्तलको दाबी छ । १०/१२ दिनको अबधिमा १५ लाख जनामा औषधी वितरण गरिएको उनको भनाई छ ।

शुरुमा समाजकै सदस्यहरूले माग अनुसार घरमा नै पुगेर वितरण गरेका थियो भने अहिले दायरा बढाइएको छ । जैन भवन र गौशालामा स्टल पनि राखिएको उनले जानकारी दिए । उनी भन्छन्– ‘त्यहाँ जो गए पनि दिइन्छ बाँकी चाही बडा अध्यक्षहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ हामी उहाँहरूलाई दिन्छौं र उहाँहरूले वितरण गर्नुहुन्छ ।’

औषधी वितरण गरेको केही समयमात्रै भएको भएपनि प्रयोगकर्ताहरूबाट राम्रो प्रतिक्रिया आएको उनी बताउँछन् ।

‘४/५ वर्ष देखि पेटको धेरै समस्या भएको, कसैको खुट्टा दुख्ने समस्या त्यो पनि यो औषधीको प्रयोग पछि राम्रो भयो भनेर खबर आइरहेको छ,’ त्यस अघि उनले थपे– ‘यसले खाली रोग प्रतिरोधक क्षमता बढाएको मात्रै छैन कसैको त पुरानो रोग पनि राम्रो भयो भनेर हामीलाई खवर आइरहेको छ ।’

देशको सबै नागरिकले औषधी सेवन गरुन भन्ने सेवाको योजना रहेको छ । ‘प्रचारप्रसार नपुगेर हो वा अन्य के कारणले हो उहाँहरूकोमा खबर पुगेको छैन’–उनले भने । तर देशभरी नै औषधी पुगेको उनले बताए ।

डडेलधुरा, रुकुम, मुगु, रोल्पाबाट पनि मागहरू आइरहेको उनी बताउँछन् । । ४२ जिल्लामा औषधी पुगेको उनको भनाई छ ।

आर्सेनिकम एल्बम ३० सि प्याकिङ गर्नको लागि सेवाका ३० जना कर्मचारीहरू नियमित खटिएका छन् । तर पछिल्लो समय स्वयंसेवक लागि पनि इच्छा व्यक्त भइरहेको उनले बताए ।

कोरोनाको संक्रमणको जोखिम कम नभएसम्म सबै नेपालीले औधषीको प्रयोय गरुन् भन्ने इच्छा रहेको उनले बताए । ‘साइड इफेक्ट नभएकाले सबै उमेर समुहले यो प्रयोग गर्न सक्छन्’– उनले भने । उत्पादन र वितरणमा करोडौं रुपैयाँ खर्च भएको उनी बताउँछन् ।

केही समय अघि विज्ञहरूले होमियोप्याथिक औषधीको प्रयोग गर्न नहुने प्रतिक्रिया दिएका थिए । त्यसमा उनी भन्छन्– ‘उहाँहरूले कुरा नबुझेर हो कि जस्तो पनि लाग्छ मलाई ।यसको कुनै पनि साइट इफेक्ट छैन । यो खुवाउनै हुँदैन आर्सेनिक भनेको विख हो । यो खायो भने धेरै नराम्रो हुन्छ केके हुन्छ भनेर प्रतिक्रिया दिएका उक्त डाक्टरले बुझेपछि उहाँले लिखित रुपमा नै मैले यस्तो प्रतिक्रिया दिन नहुने भनेर भन्नु भएको छ ।’

जर्मन बेस होमियोप्याथिक औषधी भारतमा बन्छ । र नेपालमा नेपालको चिकित्सकहरूको प्रत्यक्ष निगरानिमा मिक्स हुने गरेको छ । ‘डाक्टरहरूको प्रत्यक्ष निगरानिमा मिक्स गरेर तयार भएपछि हामीलाई दिनुहुन्छ र हामी प्याक गछौं’– उनले भने ।

होमियोप्याथिक औषधी आर्सेनिकम एल्बम ३० सि अहिले नेपालभर निशुल्क वितरण भइरहेको छ र उनी भन्छन्– ‘जहिलेसम्म हामी बाढ्छौं तबसम्म निशुल्क बाढ्छौं ।’

कोरोना संक्रमितहरूमा पनि होमियोप्याथिक औषधीको परीक्षण गर्ने उनीहरूको योजना रहेको छ । तर त्यसको लागि नेपाल सरकारको स्वीकृती लिनुपर्ने भएकाले चिकित्सकहरू प्रयासरत रहेको उनले जनाए ।

मित्तलले होमियोप्याथिक औषधीलाई रोग प्रतिरोधक क्षमता बढाउनेको रुपमा लिन आग्रह गरेका छन् । ‘कोरोनाको औषधी होइन यो । रोग लाग्नबाट बच्छ र कोरोना संक्रमण सम्भावना धेरै काम हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्