दर्जनौं एनसेल टावरमा विस्फोट, नख्खुमा घाइते एकजनाको मृत्यु



काठमाडौँ : एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा बम विस्फोट गरेलगत्तै गयराती देशका दर्जन बढी जिल्लामा रहेका एनसेल टावरमा आक्रमण भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेल टावरमा आगजनी गरिएको छ । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो ।

गयराति नै बागलुङका विभिन्न स्थानमा एनसेलका टावरमा आगगजनी भएको छ । उता पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फोट र आगजनी गरि क्षति गरिएको छ ।

यसैबीच गयराति ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।  नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी  अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बम विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन ।  यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरी एनसेल टावरमा क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्