प्रेमीले धोका दिएपछि अभिनेत्रीद्वारा आत्महत्या



एजेन्सी : कन्नड नायिका चन्दना गौडाले विष खाएर आत्महत्या गरेकी छन्। २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन्। प्रेमीबाट धोका पाएपछि चन्दनाले आत्महत्या गरेकी हुन्।

आत्महत्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छन्। आत्महत्या गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन्। चन्दनाको भिडियो पाएलगत्तै परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो।

चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे। समाचारअनुसार चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि अफेयरमा थिइन्। प्रेमीसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेका थिए।

प्रेमीको व्यवहारले उनी तनावमा थिइन्। आत्महत्या गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छन्। दिनेशले दिएको धोका सहन नसकेर आफूले ज्यान दिएको बताएकी छन्। चन्दनाको आत्महत्यापछि उनका प्रेमी फरार छन्।

प्रतिक्रिया दिनुहोस्