परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै



काठमाडौं: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालीसौं बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गर्दैछन्। यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो। मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।साथै उनले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्नेछन्।  फागुन १६ गते स्वदेश फर्कनुअघि मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संगठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्