सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाको कारण मृत्यु



सुर्खेत : पश्चिम सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि जेठ २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसंस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।

मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्