आज प्रधानमन्त्री ओलीको जन्मदिन (जीवनी सहित)



काठमाडौं: आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा बाबु मोहनप्रसाद ओली र आमा मधुमाया ओलीको पुत्रका रुपमा  जन्मिएका हुन् । ओली चार बर्षको हुँदा आमा मधुको मृत्युपछि उनकी हजुरआमा राममायाले हुर्काएकी थिइन् । 

कक्षा ४ सम्मको अध्ययन तेह्रथुममा पूरा गरेका ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए । ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो । सानैमा आमाको माया गुमाउनुपरेको र गरिब परिवारमा जन्मिएका कारण उनको बाल्यकाल निकै कष्टपूर्ण बितेको थियो । पढाईको सिलसिलामा झापा आन्दोलनका योद्धा रामनाथ दाहालसँग उनको भेट भयो ।

चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाएका थिए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाब बढ्दै गयो । विद्यार्थी छँदादेखि नै मीठो र प्रष्ट ढंगले बोल्ने ओली अरुको खुलेर आलोचना गर्थे । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर, राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । वि.स २०२३ सालदेखि राजनीतिमा छिरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही बर्षदेखि भूमिगत भए ।

पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे र १४ बर्षसम्म जेलमा रहे । उनी पहिलो पटक २०२७ फागुन १६ गते झापाबाट गिरफ्तार भए । पंचायती प्रशासनले जेलजीवनका क्रममा ओलीलाई ९ पटक ठाउँसारी गरेको थियो । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बने । २०४८ सालदेखि उनी तत्कालिन नेकपा माले हुदै अहिलेसम्म पार्टीको माथिल्लो कमिटिमा रहँदै आएका छन । ओली २०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । तर २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट नेता माधवकुमार नेपाललाई पराजित गरेर उनले पार्टीको नेतृत्व सम्हालेका थिए ।

ओली वि.स. २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभामा निर्वा्चित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने उनी झापा ७ बाटै विजयी बने । ओली यसअघि परराष्ट्रमन्त्री, गृहमन्त्री उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री समेत भइसकेका छन ।

संविधान घोषणा भएलगत्तै माओवादीको समर्थनमा २०७२ असोज २४ गते उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बनेका ओली प्रचण्डकै अविश्वास प्रस्तावका कारण २०७३ साउन २३ गते सत्ताच्युत भएका थिए । त्यसको झण्डै डेढ बर्षपछि उनी दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका छन । ओली विगत १० बर्षयता मृगौला रोगसँग लड्दै आएका छन् । काम नगरेपछि भारतमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य अवस्था प्रतिकूलता हुँदाहुँदैपनि ओलीले झण्डै पाँच दशक लामो राजनीतिक जीवन उचाईमा पुर्याएका छन ।

प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकालमा भारतले गरेको नाकावन्दीको सामना गरेको भन्दै उनको प्रसंसा भएको थियो । प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो इनिङस २०७४ फागुन ३ गते सुरु भएको हो । उनको पहिलो बर्ष सन्तोषजनक नभएको बिश्लेषकहरुले बताएपनि ओली स्वयमले भने आगामि चार बर्षका लागि आधार तयार गरेको बताएका छन् ।  यो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा लैजान सके उनी एउटा राजनेताका रुपमा रहनेछन् । सकेनन् भने उनीमात्र होइन समग्र नेकपाले नै भविष्यमा त्यसको मूल्य चुकाउनुपर्नेछ । अहिले उनि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पनि हुन् । 

प्रतिक्रिया दिनुहोस्