गुणस्तरहीन सामाग्रीको प्रयोग गरेपछि खानेपानी आयोजनाको पर्खाल भत्काइयो



विराटनगर : मोरङको जहदा गाउँपालिका–३ भातिगछमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाको पर्खाल भत्काउन थालिएको छ । पर्खाल निर्माणमा गुणस्तरहीन सामाग्रीको प्रयोग गरेको पाइएपछि भत्काइएको हो । 

पर्खाल निर्माणमा गुणस्तरहीन इँटा, बालुवा र सिमेन्ट प्रयोग भएको निष्कर्ष निकालिएको छ । उपभोक्ता समितिमार्फत निर्माण हुनु पर्ने उक्त आयोजना समितिले पनि ठेक्का लगाएपछि विवादित बनेको थियो । 

यस आयोजनाका विषयमा धेरै टिका टिप्पणी हुन थालेपछि खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर ४ झापाले अनुगमन गरेको थियो । अनुगमनपछि संरचना निर्माणमा कमसल सामग्रीको प्रयोग भएको जनाउँदै कार्यालयले पर्खाल भत्काएर नयाँ निर्माण गर्न निर्देशन दिएको थियो । 

कार्यालयका प्रमुख सयनकुमार श्रेष्ठले स्थलगत अनुगमनका क्रममा गुणस्तरहीन काम भएको र स्टीमेट विपरीत काम भइरहेको पाइएको जानकारी दिए । ‘सिमेन्ट पनि कमसल प्रयोग गरेको पाइयो,’ उनले भने, ‘लेदो मिसिएको बालुवा र कमसल सिमेन्ट प्रयोग गरिएकै कारण पर्खाल भोलिपल्टै भत्किएछ ।’ 

तीन वर्षे योजनाअन्तर्गत करिब ८ करोड लागतमा सो खानेपानीको काम सम्पन्न गर्न चालु आर्थिक वर्षमा १४ लाख २५ हजारमा कम्पाउण्डको पर्खाल लगाउन थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्