संरक्षणको अभावमा ऐतिहासिक राजकुवा अलपत्र



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेमा तत्कालीन ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने राजकुवा संरक्षणको अभावमा अलपत्र परेको छ ।

तत्कालीन राजा भर्तिवमले आफू र आफ्ना राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औँ शताब्दीदेखिको सम्पदा भए पनि त्यसको संरक्षणमा भने कसैको ध्यान पुगेको छैन । 

वडा कार्यालय नजिकै बाटोको छेवैमा रहेको सो कुवाको संरक्षणमा कसैले चासो नदिँदा अहिले पुरिने अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् । 

राजा भर्तिवम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा बनाइ एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती छ । 

कुवा कहिले निर्माण भएको भन्ने विषयमा कुनै अभिलेख नभेटिए पनि ज्यामरुककोटको डाँडामा दरबार नजिकैको कुवा पहिरोले पुरेपछि राजाले सात्लेपानीमा कुवा बनाएको स्थानीय वूढापाकाको भनाइ रहेको छ ।

भकुण्डेका ७४ वर्षीय डम्मरवहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानिमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातीदेखि नै लाइनमा बस्ने गर्दथे । 

‘तामाका गाग्री लिएर टाढाटाढावाट पनि मानिसहरू पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हुँ’ कार्कीले  भने, ‘त्यस अघि सोही कुवामा राजा भर्तिवम मल्लले नुहाई त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती छ ।’

प्रतिक्रिया दिनुहोस्