वीरगन्ज बजार आजदेखि जोरविजोर प्रणालीमा संचालन



वीरगन्जः जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि वीरगन्ज बजार खोलेको छ ।

जेष्ठ २१ गते बसेको सुरक्षा समितिको बैठकले बजारलाई खुकुलो बनाउँने निर्णय गरेपछि आजदेखि नियमित रुपमा जिल्लाको पसलहरु जोर विजोर प्रणलीबाट खुल्न थालेको हो ।

लामो समयदेखि लकडाउनले गर्दा समग्र अर्थतन्त्रमा परेको असर र अति आवश्यकीय बस्तुहरुको सहज आपुर्ति हुन नसकेपछि बजारलाई खुकुलो बनाउँने सुरक्षा समितिले निर्णय गरेपछि आजदेखि बजार खुल्न आदेश दिएको पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्त लीलत कुमार बस्नेतले बताए ।

स्थानिय प्रशासनले जोर विजोर बजार खोल्ने निर्णय गरे लगतै आज विहान देखि परेको मुसलधारे पानीमा समेत विरोजमा परेका हार्डवेयर, साईकल, मोटर तथा मोटरपार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसलहरु बिहान ११ बजेदेखि खुलेको छ । पसलहरु खुल्न थालेपछि वीरगन्ज बजारमा चहल पहल समेत बढ्न थालेको छ । बजार दिउँसो ४ बजेम्म मात्र खुल्ला रहने छ ।

बैक तथा वित्तिय संस्थाहरु आजदेखि नियमित रुपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै संचालन रहेको छ । अत्यावश्यक वस्तुहरु, खाद्य, किराना, आलु प्याज, पानी, दुध, ग्याँस आदिको विक्री वितरण हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्ने निर्णय भएको सहायक प्रजिअ बस्नेतले बताए ।

प्रत्येक दिन विहान ५ बजेदेखि ९ बजेसम्म तरकारी तथा फलफुल (सटरमा वा मोबाईल घुम्तीमा राखेर बेच्न दिने) हाट बजार तथा तरकारी मण्डी जस्ता खुल्ला स्थानमा विक्री वितरण गर्न नदिने र जोर गतेका दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म रेडिमेट, कपडा, कस्मेटिक, ईलोक्ट्रोनिक्स, ईलेक्ट्रिकल, आदिका पसलहरु खोल्न दिने आदेश गरिएको उनले बताए ।

हरेक साँझ ७ बजेपछि मात्र माछा, कुखुरा, तथा सोको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोईला, विटुमिन तेल, क्लिन्कर, निर्माण सामाग्रीहरु लगायतको अन्य मालवस्तु ढुवानी गर्न मिल्ने र तोकिएको समयमा ढुवानी गर्नको लागि सवारी पासको आवश्कता नपर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल, मिठाईपसल, मदिराजन्य पसल, सैलुन, मठमन्दिर, मस्जिद, गुम्बा लगायत अन्य मानिसहरुको भिडभाड हुने स्थलहरु पूर्णरुपमा बन्द नै रहने छ । सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाईकल, साईकल लगायतका पास नभएका सवारी संचालन गर्न समेत नपाउँने सहायक प्रजिअ बस्नेतले बताए ।

स्थानिय प्रशासनले लागु गरेको नयाँ नियममा कुनै प्रकारको उलंघन भए कडा कारवाही गरिने चेतावनी समेत सुरक्षा समितिले दिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघको संलग्नतामा मापदण्ड कार्यान्वयन टोली बनाई सुरक्षा समितिमा उल्लेख प्रावधान र सरकारले निर्धारण गरेको मापदण्ड कार्यान्वयनको लागि बजार अनुगमन गर्ने गराउँन पहल गरिने छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा उल्लेखित प्रावधानहरुको पालना भएको नपाईएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराई संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्