सीवाइसी अत्तरिया डीपीएल- ३ च्याम्पियन



काठमाडौं: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ । धनगढीस्थित फाप्ला मैदानमा भएको फाइनल भिडन्तमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो पटक डीपीएलको उपाधी जितेको हो । महेन्द्रनगरले दिएको  १ सय २४ रनको सामान्य लक्ष्य अत्तरियाले १ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो । जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा सनी पटेलले चौथो बलमा छक्का प्रहार गरेका थिए ।

अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट ब्याटिङ गरेका सनीले नटआउट ४७ रन जोडे। उनले २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्शावालाले ३० रनले योगदान गरेका थिए। उनले २७ बलमा ५ चौका हिर्काए । अर्का ओपनर ज्ञानेन्द्र कुँवर ७ रनमा आउट हुँदा सन्दीप जोराले २ रन भन्दा बढी बनाउन सकेनन् । कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए। रित गौतम खाता नै नखोली आउट भएका थिए भने भुवन कार्कीले ८ रनमा आउट भए।

लगत्तै कमलसिंह ऐरी पनि ३ रनमै आउट भए। तर सनीले उत्कृष्ट ब्याटिङ गरे । बलिङमा महेन्द्रनगरका मोहमद नविद र सागर ढकालले २-२ विकेट लिए। अभिनास बोहोरा र सहाब अलामको नाममा १–१ विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर १ सय २३ रनमा अलआउट भयो। महेन्द्रनगरका लागि दिलीप नाथाले ४३ रन जोडे। ओपनिङ ब्याट्सम्यान नाथले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए। मोहमद नविदले १० रन र आरिफ शेखले ११ रन बटुले।

कुशल मल्लले २२ बलमा १ चौका र २ छक्का हिर्काउदै २५ रन र रोहितकुमार पौडेलले २० बलमा १ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए । बलिङमा अत्तरियाका दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले २–२ विकेट लिए । सनी पटेलले १ विकेट हात पारे। पटेल खेलको म्यान अफ म्याच र प्रतियोगिताको म्यान अफ दि सिरिज दुवै भए ।

प्रतिक्रिया दिनुहोस्