मोरङमा वृक्षरोपण



विराटनगर : ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय मोरङ र विभिन्न सङ्घसंस्थाले जिल्लाका विभिन्न स्थानमा फलफूललगायत काष्ठजन्य प्रजातिका बिरुवा वितरण एवं वृक्षरोपण गरी शुक्रबार वातावरण दिवस मनाएका छन् ।

राष्ट्रिय वृक्षरोपण वर्षलाई अभियानका रूपमा सफल बनाउने क्रममा ग्रामथान गाउँपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालयको जग्गामा वृक्षरोपण समितिद्वारा आयोजित कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वाससहित जनप्रतिनिधि र प्रमुख वन अधिकृतसहितले सामूहिकरूपमा २०० आँप, कटहर, लिचीजस्ता फलफूल र मसला, टिकको गरी ९२५ बिरुवा रोपेका छन ।

बेलबारी, पथरी, मङ्गलबारे र कानेपोखरी सवडिभिजन वन कार्यालयले कार्यालय कम्पाउण्डमा, विराटनगर महानगरपालिका–८ जतुवास्थित स्वस्थानेश्वर मन्दिरको सार्वजनिक जग्गा, आमजुङ्गी सामुदायिक वन केराबारीको खाली वन क्षेत्रमा फलफूलका विरुवा रोपण तथा मङ्गलबारे र लेटाङमा वन उपभोक्ता तथा किसानलाई फलफूलका बिरुवा वितरण गरिएको छ ।

यसैगरी रङ्गेली नगरपालिका–७ स्थित तिरुपति आर्यघाटमा आँप, लिचीलगायतका ४० फलफूलका बिरुवा र राजवृक्ष जामुनलगायतका अन्य फूल फुल्ने बिरुवा रोपण गरिएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ग्यानेन्द्र सुवेदीले बेलबारी सवडिभिजन वन कार्यालयको परिसरमा, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप राईले पथरीस्थित हरियाली र शान्ति सामुदायिक वनमा, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कानेपोखरीमा वुक्षरोपण गरेका छन ।

विराटनगर महानगरपालिका–४ कन्चनबारीदेखि नोबेल अस्पताल सडकको दायाँबायाँ पनि फूल फुल्ने जातको वीरेन्द्र फूलको बिरुवा १५० वटा रोपण गरिएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जानकारी दिए । उनले जिल्लामा फलफूलका छ हजार ३८५ तथा अन्य काष्ठजन्य छ हजार २६० गरी जम्मा १२ हजार ६४५ बिरुवा रोपण भएको जानकारी दिए ।

यस वर्ष डिभिजन वन कार्यालय मोरङबाट ४० हेक्टर जग्गामा वृक्षरोपण गर्ने तथा आठ लाख बिरुवा विभिन्न निजी तथा सरकारीस्तरमा रोपण गर्न वितरण गरिने डिभिजन कार्यालयबाट जानकारी प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्