अनुदानका लागि माग अनुसार आवेदन परेन, किसान भन्छन् : अनुदान भन्दा निवेदन दिन धेरै खर्च



कैलाली : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आह्वान गरेको चैते धान खेती विस्तार अनुदान कार्यक्रमका लागी मागअनुसार आवेदन परेको छैन । मन्त्रालयले प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरी एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो । 

मन्त्रालयले पुस २५ गते देखि माघ १० गतेसम्म सूचना जारी गरी किसानहरूबाट आवेदन माग गरेको थियो । स्थानीय तहबाट आवेदन माग गर्दा पाँच जिल्लाबाट छ सय ८५ विगाहा नौ कट्ठाको सिफारिस माग भएको मन्त्रालयले जनाएको छ । 

उता किसानहरूले भने मन्त्रालयले वितरण गर्ने अनुदान कार्यक्रम झन्झटिलो भएकोले आवेदन नदिएको बताएका छन् । कृषकहरूले पाउने अनुदान कार्यक्रमका लागी मन्त्रालय आउन/जान र आवेदनका लागि फाइल तयार गर्न लाग्ने खर्च अनुदान पाइने रकमभन्दा धेरै भएको डोटीका किसान चक्र भाटले गुनासो गरे । 

मन्त्रालयका कृषि प्रसार अधिकृत जनक बोहराले भने विगतमा बिउमा सशर्त अनुदानको व्यवस्था भएकोमा यस वर्ष ५० प्रतिशत मात्र अनुदान दिइएकाले किसानले आवेदन नदिएको बताए ।

चैते धान खेती विस्तार कार्यक्रमअन्र्तगत किसानलाई बिउमा ५० प्रतिशत अनुदान र धान चुट्ने मेसिन दुई सय थान उपलब्ध गराइनेछ । 

प्रतिक्रिया दिनुहोस्