अभिषेकको ह्याट्रिकमा मणिपुरमाथि नेपाली युवा टोलीको सहज जित



काठमाडाैं : अभिषेक रिजालले पुनः एक पटक ह्याट्रिक गरेपछि नेपाली युवा टोलीले भारतमा जारी डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ फुटबलमा मणिपुरलाई ३–१ ले पराजित गरेको छ।

एलएनआइपीई रंगशालामा शनिबार भएको आफ्नो तेस्रो खेलमा नेपाललाई जित दिलाउन अभिषेकले खेलको १९, ३० र ८२ औं मिनेटमा गोल गरे। पराजित टोलीका लागि सोंग्पू सिङसितले एक गोल फर्काए।

खेलको १९ औं मिनेटमा अनिल महर्जनको पासमा अभिषेकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३० औं मिनेटमा एरिक विष्टको कर्नरमा हेडरमार्फत गोल गर्दै अभिषेकले अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले पछि परेको मणिपुरका सिङसितले ५४ औं मिनेटमा गोल गर्दै अग्रता कम गरेका थिए।

तर, ८२ औं मिनेटमा अभिषेकले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गर्दा नेपाली युवा टोलीले अग्रता ३–१ मा पुर्यायो। त्यसपछि बाँकी समयमा गोल भएन र मणिपुर पराजित हुन पुग्यो। पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित नेपालले दोस्रो खेलमा त्रिपुरा क्लबलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो। सो खेलमा पनि अभिषेकले ४ गोल गरेका थिए।

नेपालले अर्को खेल आइतबार मिजोरमसँग खेल्नेछ। ११ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। समूह ‘ए’ मा ५ र समूह ‘बी’ मा ६ टोली छन्।

प्रतिक्रिया दिनुहोस्