भेनेजुएलाले गर्‍यो सीमा बन्द



काराकास: आफ्नो सम्प्रभुतामाथि खतरा भएको भन्दै भेनेजुएला सरकारले कोलम्बियासँगको सीमाक्षेत्र बन्द गरेको छ। भेनेजुएलामा खाद्यान्न र औषधि अभाव भएपछि अन्तर्राष्ट्रिय समुदायले कोलम्बियामा राहत ल्याइपुर्‍याएका बेला यस्तो निर्णय गरिएको हो।

राष्ट्रपति निकोलास मादुरोले आरुबा, बोनाएर र कुराकाओ क्षेत्रबाट सम्पर्क अन्त्य गर्न आदेश दिएका छन्। यसैगरी मादुरनेले आफ्नो देशमा सहयोग आउन नदिन ब्राजिलसँग जोडिएको सीमा पनि बन्द गरेका छन्। भेनेजुएलाका उपराष्ट्रपति देल्सी रोद्रिगेसले ट्विट गरे, ‘भेनेजुएलाको शान्ति र सम्प्रभुताविरुद्ध कोलम्बियाबाट गम्भीर खतरा उत्पन्न गर्न खोजिएकाले सिमोन बोलीवर, सान्तेन्दर र यूनियम ब्रिजेजलाई पूर्ण बन्द गरेका छौं।’

उनले कोलम्बियामा इवान द्युकको सरकार अमेरिकी कठपुतली भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भेनेजुएलमा हिंसा गराउन उद्यत भएको दाबी गरे। उनले सीमाक्षेत्रमा हिंसा समाप्त हुनासाथ ती नाका खोलिने पनि बताए। सीमाक्षेत्रमा हिंसा गराउन कोलम्बिया सरकार लागिपरेको उनको आरोप छ। भेनेजुएलाका उच्च अधिकारीहरूसँग आफूले देशका धेरै ठाउँ भ्रमण गरेको र ती सबै ठाउँमा शान्ति भएको दाबी गरेका छन्।

‘हाम्रो चासो शान्ति, अहस्तक्षेप, स्वतन्त्र राज्यको सम्मान हो। त्यो अहिले जनताले महसुस गर्न थालेका छन्’, उनले भने। भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुँवा ग्वाइदोले गत जनवरी २३ मा आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ। आन्तरिक विवादलाई लिएर विश्व समुदाय पक्ष विपक्षमा उभिएका छन्। आन्तरिक तथा वैदेशिक सम्बन्धमा समस्या उत्पन्न भएपछि खाद्यान्न, औषधिलगायतको अभाव भएको छ। भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधि अभाव भएपछि विभिन्न देशले सहायता सामग्री पठाउन खोजेकाले त्यसलाई रोक्नका लागि पनि सीमानाका बन्द गरिएको आरोप पनि लगाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्