चन्दामा कुरा नमिलेपछि एनसेललाई तर्साउन विस्फोट



काठमाडौं: ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा शनिबार बिहान भेटिएकी उनकी भाउजू धनकुमारी गुरुङले भनिन्, ‘उहाँ (देवर सिमप्रसाद) दुर्घटनामा परेको खबर पाएपछि म लमजुङबाट काठमाडौं आएँ। अवस्था सामान्य होला भन्ने लागेको थियो तर नसोचेको भयो।’

प्रत्यक्षदर्शीका अनुसार गुरुङ एनसेलको गेटअघि पुग्नै पाएनन्। ‘त्यहाँ नपुग्दै ठूलो आवाज आयो। आवाजसँगै उनको शरीरको केही भाग टाढासम्म पुग्यो। प्रहरी पनि तुरुन्तै आयो। अस्पताल लग्यौं’, एक प्रत्यक्षदर्शीले भने, ‘के भयो के, थाहा पाउन सकिएन। सबै भागाभागको अवस्था आयो।’ विस्फोटबाट एनसेल मुख्यालयअघिको एक रेस्टुरेन्ट, एक क्याफे र फर्निचर पसलको समेत सिसा फुटेको छ। प्रत्यक्षदर्शीका अनुसार धुलो र धुवाँमात्रै उडेको थियो। गुरुङ सडकमै छटपटाइरहेका बेला उद्धारमा खासै कसैले ध्यान नदिएको र सबै मोबाइलबाट फोटो खिच्न लागेको एक पसलेले बताए। उनका अनुसार विस्फोटको १० देखि १३ मिनेटजतिमा प्रहरी आएपछि मात्रै उनलाई अस्पताल लैजान सकिएको ती पसलेले बताए।

विस्फोटबाट घाइते उनलाई बिएन्डबी अस्पतालमा उपचार हुन नसकेपछि मेडिसिटी लगिएको थियो। विस्फोटबाट उनका दुवै खुट्टा चुँडिएका थिए, कम्मरका हड्डी भाँचिएका थिए र केही नसा चुँडिएका थिए। गम्भीर घाइते ४९ वर्षीय उनको उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको थियो। सिंगापुरे प्रहरी सेवाबाट अवकाशप्राप्त लमजुङ क्व्होलासोथर गाउँपालिका–९ मेलुङका गुरुङ केही समययता भैंसेपाटी बस्दै आएका थिए। आफन्तका अनुसार उनी सिंगापुर प्रहरीबाट २०६९ सालमा सेवानिवृत्त भएका थिए।

भाउजू धनकुमारीका अनुसार सिमबहादुरका दुई छोरी र एक छोरा छन्। ठूली छोरी अस्ट्रेलियामा पढ्छिन्। सिमबहादुरको अवस्थाबारे जानकारी पाएपछि लमजुङ र पोखराबाट उनका भाउजू र बहिनी शनिबार बिहानै अस्पताल आइपुगेका थिए। उनका साइँला दाजु श्यामप्रसाद पनि लम्जुङबाट काठमाडौं आएका छन्। उनका ठूला दाजु बेलायतमा छन्। गुरुङ चार दाजुभाइमध्ये कान्छा थिए। जेठी छोरी अस्ट्रेलियाबाट आइतबार साँझ काठमाडौं आउने पारिवारिक स्रोतले बताएको छ। उनी आएपछि अन्त्येष्टि कर्म गरिनेछ। शवको पोस्टमार्टम गरिसकिएको महानगरीय प्रहरी परिसरका डिएसपी अपिलराज बोहोराले जानकारी दिए। सिंहबहादुरकी पत्नी अर्धचेत् अवस्थामा रहेको आफन्तले बताएका छन्।

सोही विस्फोटमा परी ललितपुर महानगरपालिका–४ बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का र काभ्रे बनेपा घर भई मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुसा मानन्धर पनि घाइते भएका छन्। खड्का पतिसँग मोटरसाइल चढेर घर जाँदै थिइन्। एनसेल गेटअघि पुग्दा ठूलो आवाज आएको थाहा पाए पनि उनले आफू घाइते भएको घर पुगेपछि मात्रै थाहा पाएकी थिइन्। उनले घर पुगेर आफ्नो पातोबाट रगत बगेको देखेपछि मात्रै घाइते भएको चाल पाइन्। उनी सुरुमा अल्का अस्पताल र त्यसपछि मेडिसिटी अस्पतालमा उपचारका लागि पुगिन्। उनको पातोको शल्यक्रिया गर्दा प्ररेसर कुकरको सिठी भेटिएको थियो।

मोटरसाइकलमा रहेका दुई व्यक्तिले एनसेल कार्यालयको मूलढोकामा शंकास्पद वस्तु राखेर हिँडेपछि सुुरक्षागार्डले सडकमा मिल्काएका थिए। प्रहरीले शंकास्पद गतिविधि गरेको भन्दै एनसेलमै कार्यरत दुई सुरक्षागार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खवर नागरिकमा छ । 

प्रतिक्रिया दिनुहोस्