हिन्दु धर्म, जात व्यवस्था र नेपाली समाज



रुकुम–जाजरकोटको जातीय नरसंहारले नेपाली समाजको एकल जातीय ब्राह्मणवादी सामाजिक संरचनाको स्वरुप र प्रबृत्तिलाई बिश्वमाझ उदाङ्गो पारिदिएको छ । अन्तरजातीय प्रेमप्रसङ्गले ६/६जनाको बीभत्स हत्याको रुप लिनु विश्वकै इतिहासमा असामान्य घटना हो । तर नेपालको सदियौ अघिदेखि स्थापित सामाजिक संरचनाको तप्का अझपनि सामान्य मानिरहेको छ । यसभित्र सबैलाई थाहा भएको तर भन्न नखोजिएको सत्य लुकेको छ–हिन्दु धर्म र संस्कार ।

दलित
विश्वमै सबैभन्दा पुरानो मानिएको (मान्न लगाइएको) हिन्दु धर्मग्रन्थ ऋग्वेदबाट नै वर्ण व्यवस्थाको सुरु हुन्छ । जहाँ ब्राह्मण , क्षेत्री , वैश्य र शुद्र ब्रह्माको शीर, छाती, पेट र पाउबाट उत्पत्ति भएको प्रष्ट लेखिएको छ। गीतामा ब्राह्मण ,क्षेत्री , र बैश्यको सेवा गर्नु नै शुद्रको धर्म हो भनिएको छ । महाभारतमा शुद्र कहिल्यै राजा बन्न सक्दैन र रामायणमा ज्ञान आर्जन गर्ने शुद्रलाई हत्या गर्नुपर्छ भनिएको छ ।

पुराणमा शुद्रको जन्म नै सेवा गर्नका लागि भएको हो र रामचरितमानसमा शुद्रलाई पिट्नु ,सजाय दिनु नै धर्म हो भनिएको छ । मनुस्मृतिमा शुद्रले ब्राह्मणलाई दुख दियो भने राजाले अनेक प्रकारका दुखदायी उपायले मार्नुपर्छ भनिएको छ । बर्णब्यवस्थालाई सामाजिक संरचनाको रुपमा स्थापित गर्न मनुस्मृतिले कानुन सरह (कानुन भन्दा अझ माथिल्लो स्तरको ) मान्यता पाएको देखिन्छ ।

नेपाली समाज
सन् २०० मा भारतको बैशालीबाट आएका लिच्छविहरुले काठमाडौं उपत्यकामा चार वर्ण अठार जातको वर्णब्यवस्था सुरु गरेको देखिन्छ ।त्यस्तै जयस्थिति मल्लले चार वर्ण चौसट्ठी जात र गोर्खाली राजा राम शाहले चार जात छत्तीस वर्णको छुवाछुत सहित वर्णब्यवस्था चलाएको देखिन्छ ।पृथ्वीनारायण शाहको झअशिल् हिन्दुस्तानञयोजनाका साथ सुरु गरिएको नेपालको एकीकरण सफल भयो । राणाकालीन समयमा जङ्गबहादुरको १९१०को मुलुकी ऐन सम्म आइपुग्दा नेपाली समाज छुवाछूत र जातिपातिको नरकमा चुर्लुम्बै डुबुल्की मारेर निस्कन नसक्ने स्थितिमा पुगिसकेको थियोे ।समाजलाई पुरै हिन्दुकरण गरिएको थियो ।राजालाई बिष्णुवतारका रुपमा पुजिन्थ्यो ।

शुद्रभित्र पनि ठुलो र सानो बनाएर समाजलाई बिखण्डित गरियो ।यसकारण नेपाली समाजको व्यवस्था पुर्णतः हिन्दु धार्मिक जात व्यवस्था हो भन्न कुनै असजिलो छैन ।भारतका एकजना विद्वान राममनोहर रोइयाले भन्नुभएको छ, हिन्दु धार्मिक व्यवस्थामा माथि बस्नेले तल बस्नेलाई थिच्छ र थिचिएर धर्ती मै गाडिएकाले पनि कस्लाई थिच्ने भनेर भुँईतिर हेर्छ तर माथि फर्केर हेर्दैन ।यो भनाइले नेपाली समाजको उपाध्याय बाहुनले जैशी बाहुनले पकाएको नखाने ,जैशीले क्षेत्रीले पकाएको नखाने , क्षेत्रीले घर्तीले पकाएको नखाने ,घर्तीले जनजातिले पकाएको नखाने ,जनजातिले दलितले पकाएको नखाने ,कामीले दमाईले पकाएको नखाने प्रबृत्ति र संस्कारलाई मिट गर्न मद्दत गर्छ।

अभ्यास
विभिन्न समयमा धार्मिक सुधारका कामहरु नभएको भने होइन ।गौतम बुद्ध देखि जोशमनी मतका सन्त शशीधर,ज्ञान दिलदास, आर्य समाजी माधवराज जोशी लगायत विद्वानहरुको धार्मिक सुधारमा महत्त्वपूर्ण भुमिका रह्यो ।तर ठ्याक्कै समस्याको समाधान आजका दिन सम्म निस्कन सकेको देखिन्न ।समाज शिक्षित र चेतनशील हुदै गए पछि छुवाछुत र भेदभाव क्रमशः हट्दै जान्छ भन्दै गरेको पनि कयौं दशक भइसकेको छ।

आजको एक्काइसौं शताब्दीलाई उन्नत र सभ्य समाज भनिन्छ तर दलितहरूको सवालमा यो पटक्कै लागू भएको देखिएन ।झन् जातीय हिंसाका घटनाहरु दिन दुगुना रात चौगुनाका दरले बढ्ने क्रम जारी छ ।यसको अर्थ नेपाली समाज हिन्दु धार्मिक संस्कारमा रमाइरहेको छ भन्ने नै हो । समस्याको जड नै यही हो ।डा.भीमराव अम्बेडकरको कथन छ कि यदि शुद्र(दलित)ले हिन्दु धर्मको हिंसालाई सहनशील भएर सहेर बस्छ भने यही नै उसको पतनको कारण हुनेछ ।

ओशोले पनि हिन्दु धर्म शुद्रको मुर्खताले टिकेको धर्म हो भनेका छन् । यसमा थप्दै शुद्रले आफ्नो इतिहास थाहा पायो भने कि बौद्ध हुन्छन् कि शिख भनेका छन् ।सिंगापुरका तत्कालीन प्रधानमन्त्री लि क्वानले दक्षिण एसियाको विकास हिन्दु रुढीबादी प्रवृत्तिको कारण अवरुद्घ छ भनेका छन् ।यो कुरालाई अम्बेडकर संगै हिन्दु धर्म परिवर्तन गरि बौद्ध भएका लाखौंलाख दलितहरूको शैक्षिक र आर्थिक प्रगतिले पनि पुष्टि गर्न बल पुर्याउँछ ।

विकल्प
हिन्दु धर्म र संस्कारले नेपाली समाजलाई ब्राह्मणवादी एकल जातीय सर्वेसर्वा गराएको छ। संविधानतः धर्मनिरपेक्ष भनिए पनि सनातन देखि मान्दै र गर्दै आइरहेको भनेर परिभाषित गर्नुको भित्री चुरो यही नै हो ।हिन्दु धर्मले दलितलाई अछुत भन्छ भने छुत हुन हिन्दु धर्म त्याग्नै पर्ने हुन्छ ।यो एकमात्र विकल्प हो । त्यसपछि के गर्ने अर्को पाटो हो ।

नास्तिक हुन या धर्म परिवर्तन गरेर बौद्ध ,क्रिस्चियन, शिख, जैन , मुस्लिम हुन पनि सकिने भयो । तर हिन्दु धर्म भित्र दलित मुक्ति चाहिँ खोज्न नसकिने प्रष्ट देखिन्छ पहिलो ।दोस्रो चाहिँ के राज्य हिन्दु वर्ण व्यवस्थालाई पुर्णतः खारेज गरेर जात विहिन समाज बनाउने सामर्थ्य राख्छ त??? यसो गर्न राज्य मान्दै मान्दैन किनकि सत्ता र शक्तिको बागडोर ऊ आफू बाहेक अरुलाई दिनै चाहदैन ।यसको लागि ऊ हिजो जे गरिरहेको छ ,आज पनि त्यही गर्छ- दलितले छोएको खानु भन्दा बरु मर्छु भन्छ ।

निचोड
दलितहरुले हिन्दु धर्म र संस्कार पुर्णतः परित्याग गर्नुपर्ने हुन्छ ।अनि मात्र प्रगतिको खुट्किलो अघि बढ्न सुरु हुन्छ ।अछुत बाट छुत हुने क्रम सुरु हुन्छ ।मन्दिर जाने भिड विध्यालय जान थाल्छ ।हिन्दु धर्मले थोपरिदिएको जात लेख्न नपर्ने भएपछि आफुले चाहेको व्यवसाय गर्न सामर्थ्य हुन्छ । शैक्षिक र आर्थिक रुपमा सम्पन्न भएपछि समाजमा उसको भिन्न पहिचान स्वाभाविक रुपमा स्थापित हुन थाल्छ ।

विभेद, हिंसा भइहाले पनि सिंगो बिश्वका बौद्धिष्टहरु बोल्छन् । क्रिस्चियनहरू बोल्छन् ।मुस्लिमहरु बोल्छन् । तर हिन्दु नै भयो भने सहेर बस्नुको विकल्प हुँदैन ।

(लेखक रघु परियार नेपाली जनता दलका केन्द्रीय उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्